नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा भारी गिरावट आएको छ । यस दिन सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदीको मूल्य २२५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ११० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि परेको हो । तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारको तथ्यांकअनुसार शुक्रबार सुनको मूल्य प्रतिऔंस १५६.९५ अमेरिकी डलर अर्थात् ४.२६ प्रतिशतले घटेर ३ हजार ५२७.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतिऔंस ३.१४ अमेरिकी डलर अर्थात् ७.०५ प्रतिशतले घटेर ४१.३२ अमेरिकी डलरमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।