गौर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। साउनदेखि कात्तिक मसान्तसम्म कार्यालयले कुल १६ करोड ६९ लाख ३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो।
कार्यालयले यस अवधिमा निर्धारण गरिएको लक्ष्यको १२४.३७ प्रतिशत राजस्व असुली गरेको छ। अर्थात् निर्धारित लक्ष्यभन्दा करिब २४ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो।
गौर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उपसचिव शुवन शर्माका अनुसार साउनदेखि कात्तिकसम्मको चार महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको छ।
कार्यालयको तथ्याङ्कअनुसार साउन महिनामा ३ करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ३ करोड ५८ लाख ३३ हजार रुपैयाँ असुली भएको थियो। यो लक्ष्यको ११३.७६ प्रतिशत हो।
त्यस्तै, भदौ महिनामा ३ करोड ६० लाख रुपैयाँ लक्ष्य रहेकामा ३ करोड २४ लाख ८ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको थियो। यो लक्ष्यको ९०.३ प्रतिशत हो।
असोज महिनामा भने राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ। उक्त महिनाका लागि ४ करोड ५० लाख रुपैयाँ लक्ष्य निर्धारण गरिएकोमा ५ करोड ९७ लाख ३९ हजार रुपैयाँ सङ्कलन भएको थियो। जुन लक्ष्यको १४७.५० प्रतिशत हो।
यसैगरी, कात्तिक महिनामा २ करोड ७० लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ३ करोड ९९ लाख २३ हजार रुपैयाँ असुली भएको कार्यालयले जनाएको छ। यो लक्ष्यको १४७.८० प्रतिशत हो।
चार महिनाको अवधिमा भदौबाहेक अन्य तीन महिनामा कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको देखिन्छ। विशेषगरी असोज र कात्तिकमा लक्ष्यभन्दा निकै बढी राजस्व उठेको छ।
प्रमुख भन्सार अधिकृत शर्माका अनुसार भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सक्रियता तथा नियमित गस्तीका कारण सीमा क्षेत्रमा हुने अवैध चोरी निकासी तथा पैठारी नियन्त्रणमा सहयोग पुगेको छ। तस्करी न्यूनीकरणसँगै भन्सार राजस्व सङ्कलनमा समेत वृद्धि भएको उनले बताएका छन्।