महोत्तरीको सोनमा गाउँपालिका–३, खखना दक्षिणबारी टोलमा गएराति डाका समूहले गोली चलाउँदै लुटपाट गरेको छ । घटनामा घरधनी दम्पती घाइते भएका छन् ।
प्रहरीका अनुसार राति करिब पौने २ बजेतिर ७/८ जनाको समूहमा आएका डाकाहरूले ईश्वरनारायण यादवको घरमा प्रवेश गरी लुटपाट गरेका थिए । सो क्रममा प्रतिवाद गर्ने क्रममा घरधनी २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवमाथि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गोली लागेर घाइते भएका दुवै जनाको स्थानीय जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । चिकित्सकका अनुसार उनीहरूको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेका अनुसार किरण यादवको घुँडामा तथा ईश्वरनारायण यादवको काँध नजिक गोली लागेको छ ।
घटनापछि डाका समूह नगद तथा अन्य धनमाल लुटेर फरार भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको र फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको डीएसपी गोलेले जानकारी दिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।