राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका हात्तीका दुई थान दाह्रा चोरी भएको खुलासा भएको छ । सो चोरी प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय पनि प्रदर्शनकारीको निशानामा परेको थियो। त्यतिबेला तोडफोड र आगजनी भएको थियो ।
सोही अव्यवस्थाको मौका छोपी भित्तामा सजाइएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको हो । करिब ९ महिनापछि प्रहरीले दाह्रा चोरीमा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति नयाँ बसपार्क र मनमैजु क्षेत्रमा अपरेशन सञ्चालन गर्दै पक्राउ गरेको जनाएको छ ।
एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरूले दाह्रा काटेर टुक्रा पार्दै आ–आफ्नो घरमा राखेको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरूको पहिचान भने सार्वजनिक गरेको छैन ।