रौतहट । रौतहटको कटहरिया नगरपालिकामा करार तथा ज्यालादारी कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् ।
करिब २० महिनादेखि तलब नपाएको गुनासो गर्दै कर्मचारीहरू गत जेठ ११ गतेदेखि निरन्तर आन्दोलनमा रहेका हुन् । कर्मचारीहरूले सुरुमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्तको कार्यकक्षबाहेक अन्य सबै कक्षमा तालाबन्दी गरेका थिए । तर समस्या समाधानतर्फ कुनै पहल नभएको भन्दै सोमबार प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा समेत तालाबन्दी गरिएको छ ।
आन्दोलनरत कर्मचारीका अनुसार पटक–पटक माग उठाउँदा पनि नगरपालिकाले समस्या समाधान नगरी एक–दुई महिनाको तलब मात्र उपलब्ध गराउने गरेको छ । लामो समयदेखि तलब रोकिँदा कर्मचारीहरू आर्थिक तथा मानसिक रूपमा प्रभावित भएको उनीहरूको भनाइ छ ।
कर्मचारी मुकुन्द यादवले तलब नपाउँदा जीवनयापनमै समस्या उत्पन्न भएको बताए भने अर्का कर्मचारी रामानन्द पासवानले नियमित तलब नआउँदा दैनिक खर्च व्यवस्थापन गर्न कठिन भएको गुनासो गरे ।
यसैबीच, कटहरिया नगरपालिका–२ हथियाहीका कार्यालय सहयोगी श्रीराउत बरै क्यान्सर रोगसँग जुधिरहेका छन् । भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत उनी आर्थिक अभावका कारण थप समस्यामा परेका छन् । करिब २० महिनाको तलब नपाउँदा उपचार खर्च व्यवस्थापन गर्न कठिन भएको परिवारले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था जटिल रहेकाले निरन्तर उपचार आवश्यक भए पनि आर्थिक अभावले समस्या थपिएको समाजसेवी विनोदलाल कर्णले बताए । बिरामीको हेरचाह तथा उपचार खर्च परिवारका लागि ठूलो बोझ बनेको उनको भनाइ छ ।
हाल आन्दोलनका कारण नगरपालिकाको दैनिक प्रशासनिक सेवा प्रभावित बनेको छ । आन्दोलनरत कर्मचारीहरूले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।