सामाजिक उत्तरदायित्व तथा सेवामूलक गतिविधिमा सक्रिय संस्था सर्कल अफ केयरले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सालाई एक थान पानी डिस्पेन्सर सहयोग गरेको छ ।
कार्यालय परिसरमा आयोजित एक कार्यक्रममा संस्थाका पदाधिकारीहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवाललाई उक्त पानी डिस्पेन्सर औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा समुदायको हित तथा सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धिका विषयमा समेत छलफल गरिएको थियो ।
संस्थाका अनुसार सडकमा दिनरात खटिने ट्राफिक प्रहरी कर्मचारी तथा विभिन्न कामका लागि कार्यालयमा आउने सेवाग्राही नागरिकलाई स्वच्छ, सुरक्षित र सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै सर्कल अफ केयरका प्रतिनिधिहरूले समाजसेवा तथा जनहितका क्षेत्रमा कार्यरत निकायहरूसँग सहकार्य गर्दै अघि बढ्नु संस्थाको प्राथमिकता रहेको बताए ।
समुदाय र सेवामुखी संस्थाबीचको समन्वय तथा सहकार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सहयोग ग्रहण गर्दै प्रमुख प्रहरी निरीक्षक कटवालले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यसबाट कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा सेवाग्राही नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा नरेश भंसाली, दिलिप कार्की लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।