जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालक अपहरणसम्बन्धी कसूर मुद्दाका एक फरार प्रतिवादीलाई रौतहटबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको गढीमाई नगरपालिका–७ निवासी २३ वर्षीय नवराज अधिकारी रहेका छन् ।
प्रहरीका अनुसार गत वैशाख ७ गते दिउँसो करिब २ बजे महोत्तरीबाट तीन जना अज्ञात व्यक्तिले नम्बर नखुलेको मोटरसाइकलमा एक ८ वर्षीय बालकलाई राखी अपहरण गरेर लैजाँदै गरेका थिए । सो क्रममा बालक चिच्याएर कराएपछि स्थानीयवासीले मोटरसाइकल रोक्ने प्रयास गरेका थिए ।
स्थानीयले प्रतिकार गर्न खोजेपछि अपहरणकारीहरूले बालकलाई घटनास्थलमै छाडेर फरार भएका थिए ।
अनुसन्धानका क्रममा प्रहरीले घटनामा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल बरामद गरेको थियो । घटनामा संलग्न प्रतिवादीमध्ये नवराज अधिकारीलाई गत जेठ १५ गते दिउँसो करिब ३:३० बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको सहयोगमा उनलाई गौर नगरपालिका–५ स्थित हस्पिटल चोकबाट नियन्त्रणमा लिइएको हो ।
महोत्तरी प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार पक्राउ परेका अधिकारीविरुद्ध थप अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ ।
घटनाका अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।