वीरगंजस्थित नारायणी अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्यरूपमा बढ्दै गएको छ ।
सीमित भौतिक पूर्वाधार, दक्ष जनशक्ति र स्रोतसाधनका बीच सेवा प्रवाह गर्दै आएको अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि व्यवस्थापनमा थप चुनौती थपिएको हो ।
नेपाल सरकारले सर्वसाधारणलाई सुलभ र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर सरकारले जेठ १६ गतेदेखि आकस्मिक अवस्थाबाहेक निजी स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बीमा अन्तर्गतको उपचार सेवा स्थगित गरेपछि बीमा गरेका बिरामीहरू पुनः सरकारी अस्पतालतर्फ केन्द्रित हुन थालेका छन् ।
यसअघि सरकारले वीरगंजस्थित नेशनल मेडिकल कलेज र वीरगंज हेल्थकेयर अस्पताललाई समेत स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा सञ्चालनको अनुमति दिएको थियो । तर हाल ती अस्पतालहरूबाट बीमाका बिरामीको उपचार बन्द भएपछि स्वास्थ्य बीमाका सेवाग्राहीहरू नारायणी अस्पतालबाट मात्र सेवा लिन बाध्य भएका छन् ।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार बीमा सेवाका बिरामी बढेसँगै दैनिक उपचारका लागि आउने सेवाग्राहीको सङ्ख्या उल्लेखनीयरूपमा वृद्धि भएको छ ।
“पहिलेदेखि नै अस्पतालमा बिरामीको चाप उच्च थियो । अहिले बीमा सेवाका बिरामी थपिएपछि व्यवस्थापनमा थप दबाब परेको छ,” उनले भने ।
बिरामी तथा उनीहरूका आफन्तका अनुसार अस्पतालमा उपचार सेवा प्राप्त भए पनि आवश्यक औषधि सहज रूपमा उपलब्ध हुन सकेको छैन । अस्पतालभित्र सञ्चालनमा रहेको फार्मेसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा अधिकांश बिरामी बाहिरबाट महँगो मूल्यमा औषधि खरीद गर्न बाध्य भएका छन् ।
यस्तै, अस्पतालका विभिन्न वार्डमा बिरामीको अत्यधिक चापका कारण शय्या अभावको समस्या पनि गम्भीर बन्दै गएको छ । उपचाररत बिरामीका कुरुवाहरूका अनुसार एउटा शय्या खाली हुनासाथ भर्नाका लागि प्रतीक्षारत धेरै बिरामीले पालो कुर्नुपर्ने अवस्था रहेको छ ।
“एकजना बिरामी डिस्चार्ज हुँदा १० जनासम्म भर्नाका लागि प्रतीक्षामा बसिरहेका हुन्छन्,” एक सेवाग्राहीले गुनासो गरे ।
बढ्दो भीडभाडसँगै अस्पताल परिसरमा सक्रिय दलालहरूको गतिविधि बढेको आरोप पनि लाग्न थालेको छ । स्रोतका अनुसार शय्या अभावको अवस्था देखाएर केही व्यक्तिले बिरामीका आफन्तलाई प्रलोभनमा पार्दै निजी अस्पतालतर्फ लैजाने र सस्तो उपचारको नाममा महँगो उपचार गराउन दबाब दिने गरेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारी अस्पतालहरूको क्षमता विस्तार, पर्याप्त औषधि व्यवस्थापन, जनशक्ति थप तथा दलाल गतिविधि नियन्त्रणमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता सरोकारवालाहरूले औंल्याएका छन् । अन्यथा स्वास्थ्य बीमा कार्यक्रमको मूल उद्देश्य नै प्रभावित हुने उनीहरूको भनाइ छ ।
बढ्दो बिरामी चापका बीच नारायणी अस्पताल व्यवस्थापन र सरकार दुवैले सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक कदम चाल्नुपर्ने देखिएको छ ।
सरकारले निजी अस्पतालबाट स्वास्थ्य बीमाका सेवाग्राही ठगिने क्रम बढेपछि आकस्मिक सेवाबाहेक अन्य सेवाहरू सरकारी अस्पतालबाट मात्र उपलब्ध गराउने व्यवस्था गरेको थियो । यसअघि स्वास्थ्य बीमाका बिरामीलाई निजी अस्पतालमा अनावश्यक परीक्षण तथा भर्ना गरी बीमा बिल बढाउने गरेको आरोप लाग्दै आएको थियो ।
यही कारण अधिकांश सरकारी अस्पतालबाट स्वास्थ्य बीमाका बिरामी निजी अस्पतालमा रेफर गर्ने प्रचलन बढ्दो थियो । त्यससँगै निजी अस्पतालहरूले सरकारसँग स्वास्थ्य बीमाबापत करोडौं रुपैयाँ दाबी गर्ने गरेका थिए । अहिले अधिकांश स्वास्थ्य बीमा सञ्चालन गर्ने निजी अस्पतालहरूको करोडौं रुपैयाँ बक्यौता देखिएको छ ।
नयाँ व्यवस्थाले त्यो भार कम हुने आशा सरकारले गरेको छ ।