जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार अपराह्न ४ः०० बजे तातो लहरसम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभिन्न १४ जिल्लामा सतर्क रहन र अन्य सात जिल्लामा अध्यावधिक रहन अनुरोध गरेको हो । जारी विशेष बुलेटिनमा आगामी तीन दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही ठाउँमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा योभन्दा बढी रहने सम्भावना रहेको मौसमविदले सूचना जारी गरेकाे छ ।
विभागले लगातार ४० डिग्री आसपास तापक्रम पुगेपछि पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी सहितका बर्दिया, बाँके लगायत १५ जिल्लाका विभिन्न स्थानमा तातो लहरसम्बन्धी चेतावनी जारी गरेकाे हाे ।तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हु नेलगायत लक्षण देखिनसक्ने भएकाले सोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजान र चर्को घाममा बाहिर ननिस्किन तथा हल्का लुगा (सुतीका कपडा) लगाउन मौसमविदहरूले अनुरोध गरेकाे छ ।
विभागका अनुसार बाहिर निस्कँदा टाउको छोप्न टोपी लगाउन नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनुपर्ने बताएकाे छ ।