नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा तथा ट्रान्सवेल्ड ट्रान्सफर्मरको प्रायोजनमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका हुन् । जेठ २५ गतेसम्म सञ्चालन हुने यस प्रदर्शनीलाई नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिष्ठित मेलाका रूपमा लिइएको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन र प्रविधिहरू प्रदर्शन गरिएको छ । यसले व्यवसायिक सहकार्य तथा प्रविधि हस्तान्तरणका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
नेपाल, भारत, चीनलगायत विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको प्रदर्शनीमा ऊर्जा तथा विद्युतीय क्षेत्रका अत्याधुनिक प्रविधि र सेवाहरू प्रस्तुत गरिएको छ ।
साथै, उद्योगी, व्यवसायी, प्राविधिक, नीति निर्माता, शैक्षिक संस्था र उपभोक्ताबीच ज्ञान तथा अनुभव आदान–प्रदानका लागि महत्वपूर्ण मञ्चका रूपमा यो प्रदर्शनी स्थापित भएको आयोजकले जनाएको छ ।