राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र संस्कृति राष्ट्रको मौलिक पहिचान र गौरव भएको बताउनुभएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले साहित्यलाई समाजलाई चेतनशील, जागरुक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गर्नुभयो ।
राष्ट्रपति पौडेलले साहित्यले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, देशप्रेम र रूपान्तरणलाई प्रेरित गर्ने उल्लेख गर्दै यसले सभ्य र सुसंस्कृत समाज निर्माणमा योगदान पुर्याउने बताउनुभयो । उहाँले युगकवि सिद्धिचरण श्रेष्ठलाई केवल कविका रूपमा मात्र नभई चेतना, साहस, सिर्जनशीलता, राष्ट्रप्रेम र मानवीय मूल्यका प्रेरणास्रोतका रूपमा नयाँ पुस्ताले बुझ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उहाँले कठिन सामाजिक तथा राजनीतिक परिस्थितिमा पनि श्रेष्ठले स्वतन्त्रता, न्याय र जनचेतनाको सन्देश साहित्यमार्फत प्रवाह गरेको स्मरण गर्नुभयो । राष्ट्रपति पौडेलले युगकविको प्रसिद्ध कविता ‘मेरो प्यारो ओखलढुङ्गा’ ले जन्मभूमिप्रतिको प्रेमलाई नेपाली साहित्यमा अविस्मरणीय रूपमा स्थापित गरेको उल्लेख गर्नुभयो ।
सो अवसरमा डा. दुबसु क्षेत्री र डा. गार्गी शर्मालाई युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मानित गरिएको छ ।