नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुनः वृद्धि गरेको छ ।
संघको शुक्रबार काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय गरिएको हो ।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५६०, ठूलो अण्डाको रु ५४५, मिडियम अण्डाको रु ५१५ तथा सानो अण्डाको प्रतिपेटी रु ३००० कायम गरिएको छ । यससँगै खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।
संघले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ । अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतारचढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राख्दै नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताए ।
पछिल्लो एक महिनामा अण्डाको मूल्य निरन्तर बढ्दै गएको देखिएको छ । वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट रु ४६५ रहेकोमा हाल रु ५६० पुगेको छ, जुन करिब रु ९५ अर्थात् २० प्रतिशतले वृद्धि हो । यसैगरी ठूलो अण्डा रु ४९० बाट रु ५४५, मिडियम अण्डा रु ४०० बाट रु ५१५ तथा सानो अण्डा प्रतिपेटी रु २३०० बाट रु ३००० पुगेको छ ।
संघका अनुसार पछिल्ला केही सातायता उत्पादन घट्नु र बजार माग बढ्नुका कारण मूल्यमा निरन्तर वृद्धि भएको हो । दाना, औषधि तथा अन्य उत्पादन सामग्रीको लागत बढेकाले मूल्य समायोजन आवश्यक भएको अध्यक्ष पोखरेलले बताए ।
उनका अनुसार हाल अण्डाको उत्पादन लागत प्रतिगोटा करिब रु १९.१२ रहेको छ । नयाँ समर्थन मूल्य लागू भएपछि किसानले लागत नजिकको मूल्य पाउन थालेको र लामो समयपछि उत्पादन लागत बराबरको मूल्य प्राप्त हुँदा केही राहत मिलेको संघको भनाइ छ ।
अध्यक्ष पोखरेलले पर्यटक आगमन बढ्नु, सीमा क्षेत्रमा अण्डा आयात तथा ओसारपसारमा कडाइ हुनु र आन्तरिक बजारमा माग बढ्नुले समेत मूल्य सुधारमा योगदान पुगेको बताए । साथै, उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी निकायबाट नीतिगत सहयोग आवश्यक रहेको उनले जोड दिए ।