“घरदैलोमा डाक्टर” कार्यक्रम अन्तर्गत प्रभु हस्पिटल वीरगंजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा हाडजोर्नी, नशा रोग तथा आँखा सम्बन्धी चेकजाँच, परामर्श तथा औषधि वितरण सेवा प्रदान गरिएको थियो ।
शिविरमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शाश्वत साहले हाडजोर्नी सम्बन्धी चेकजाँच तथा घुँडा र नितम्ब जोर्नी प्रत्यारोपणसम्बन्धी परामर्श प्रदान गरेका थिए । साथै सुगर परीक्षणसहित निःशुल्क औषधि वितरण गरिएको थियो ।
त्यस्तै, वीरगंज सामुदायिक आँखा अस्पतालको सहकार्यमा आँखा विशेषज्ञ डा. महेश सिंह धामीले निःशुल्क आँखा जाँच तथा औषधि वितरण गरेका थिए । आँखा परीक्षणका क्रममा केही बिरामीमा मोतियाबिन्दु (Cataract) देखिएको र उनीहरूको शल्यक्रिया आजै गर्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
शिविरमा ११० महिला, ९० पुरुषसहित कुल २०० जना बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा असहाय व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।
कार्यक्रम प्रमुख दिलीप राज कार्कीका अनुसार अस्पतालसम्म पुग्न नसक्ने नागरिकलाई गाउँ–घरमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
वडा अध्यक्ष अनुप सुवेदीले गाउँमै आएर निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेकोमा आयोजकप्रति आभार व्यक्त गरेका छन् । त्यस्तै, वडा संयोजक विशाल ठकुरीले यस्ता कार्यक्रम निरन्तर रूपमा सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
आयोजकका अनुसार आगामी दिनमा पनि समुदायस्तरमै स्वास्थ्य सेवा विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ ।