काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो जुन १० मा भारतको इतिहासमै सबैभन्दा लामो समयसम्म निरन्तर सेवा गर्ने लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री बन्ने भएका छन् । यससँगै उनले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको दशकौँ पुरानो कीर्तिमान तोड्नेछन् ।
सन् २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्री पदको शपथ लिएका मोदीले जुन १० मा लगातार चार हजार ३९९ दिन पूरा गर्नेछन् । यो संख्या नेहरूले कायम गरेको चार हजार ३९८ दिनको निरन्तर कार्यकालभन्दा एक दिन बढी हुनेछ ।
नेहरूले सन् १९५२ मे १३ देखि १९६४ मे २७ मा निधन हुनुअघिसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकाल स्वतन्त्र भारतको प्रारम्भिक राजनीतिक यात्रासँग जोडिएको मानिन्छ ।
यसअघि पनि मोदीले सन् २०२५ जुलाई २५ मा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको लगातार प्रधानमन्त्री बनेर काम गरेको चार हजार ७७ दिनको कीर्तिमान उछिनिसकेका छन् ।
मोदीको नेतृत्वकाललाई भारतको बदलिँदो राजनीतिक, सामाजिक र प्रशासनिक संरचनासँग जोडेर हेरिएको छ । उनले नेतृत्व सम्हाल्दा भारतको जनसंख्या १३१ करोडभन्दा बढी रहेकोमा हाल १४६ करोड नाघिसकेको छ ।
भारतको निर्वाचन प्रणाली र राजनीतिक प्रतिस्पर्धामा समेत उल्लेखनीय विस्तार भएको छ । पहिलो आमनिर्वाचनमा ५३ राजनीतिक दल सहभागी भएकोमा हाल सयौँ दलहरू सक्रिय छन् । सन् २०२४ को लोकसभा निर्वाचनमा मात्रै ७४४ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
मोदी लगातार दुईपटक पूर्ण बहुमतसहित सरकार सञ्चालन गर्ने पहिलो गैरकांग्रेसी प्रधानमन्त्री पनि हुन् । उनी जवाहरलाल नेहरूपछि लगातार तीनपटक लोकसभा निर्वाचन जित्ने बहालवाला प्रधानमन्त्रीका रूपमा समेत स्थापित भएका छन् ।
उनको कार्यकालमा उच्च शिक्षा, स्वास्थ्य, पूर्वाधार र डिजिटल सञ्चार क्षेत्रमा उल्लेखनीय विस्तार भएको दाबी गरिएको छ । सन् २०१४ यता भारतमा आईआईटी, आईआईएम र एम्सजस्ता प्रतिष्ठित संस्थाको संख्या उल्लेखनीय रूपमा बढेको छ ।
राजनीतिक विश्लेषकहरूले मोदीको यो नयाँ कीर्तिमानलाई भारतको समकालीन राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन् । जुन १० पछि मोदी औपचारिक रूपमा भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म निरन्तर सेवा गर्ने लोकतान्त्रिक रूपमा निर्वाचित प्रधानमन्त्री बन्नेछन् ।