सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गर्न लागेको भन्ने सञ्चारमाध्यममा आएका समाचारहरू सत्य नभएको स्पष्ट पारेको छ ।
केही सञ्चारमाध्यममा सरकारले आइतबारको बिदा हटाउने तयारी गरिरहेको खबर सार्वजनिक भएपछि सरकारले त्यसको औपचारिक खण्डन गरेको हो । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यस विषयमा सरकारले कुनै निर्णय नगरेको र हालका लागि आइतबारको बिदा हटाउने कुनै तयारी वा योजनासमेत नरहेको जानकारी दिएकी छन् ।
यसअघि पश्चिम एसियामा देखिएको समस्याका कारण इन्धनको मूल्य निरन्तर बढेपछि जनजीवन र सरकारी व्यवस्थापनलाई सहज बनाउन मन्त्रिपरिषद्को चैत २२ गतेको बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो ।
सरकारले उक्त व्यवस्था हाल पनि यथावत् रहेको र आइतबारको बिदा खारेज हुने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेको छ ।