आफ्नो सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गृहमन्त्री पदबाट राजीनामा दिएका पूर्वगृहमन्त्री सुधन गुरुङ ले पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खोटाङ जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै गुरुङले सम्पत्ति सम्बन्धी आरोपबारे छानबिन गर्न गठन गरिएको विशेष समितिले आफूलाई निर्दोष ठहर गरेमा पुनः गृहमन्त्रीका रूपमा काम गर्न इच्छुक रहेको बताएका हुन् ।
उनीमाथि लागेको आरोपको अनुसन्धानका लागि गठित विशेष समितिले हालै आफ्नो प्रतिवेदन बुझाइसकेको छ । सोही सन्दर्भमा बोल्दै गुरुङले आफू पुनः मन्त्री बनेमा काम गर्ने शैली पहिलेभन्दा फरक हुने दाबी गरे । प्रधानमन्त्रीले पुनः गृहमन्त्रीको जिम्मेवारी दिएमा सुरुवाती दुई महिनासम्म मन्त्रालयमा बधाई दिन वा तस्बिर खिचाउन नआउन उनले सार्वजनिक रूपमा आग्रह गरेका छन् ।
गुरुङले छानबिन समितिसँगको बयानका क्रममा भएका प्रश्न–उत्तरबारे पनि कार्यकर्तामाझ चर्चा गरेका थिए ।
समितिका सदस्यहरूले कडा प्रश्न सोधे पनि आफूले सहज रूपमा जवाफ दिएको दाबी गर्दै उनले बयानका क्रममा समितिका सदस्यहरूलाई समेत “तपाईंहरूको पनि सम्पत्ति छानबिन गरौँ न त” भन्दै प्रतिप्रश्न गरेको अनुभव सुनाएका थिए ।