धनुषाको सबैला नगरपालिका–५, मखनाहा टोलका ४८ वर्षीय प्रगास मण्डलको परिवार गरिबीका कारण अत्यन्त कष्टकर जीवन बिताउन बाध्य भएको छ ।
एक धुर जग्गामा बनेको जीर्ण फुसको घरमा बसोबास गर्दै आएको यो परिवार सुरक्षित आवास र दैनिक गुजाराको समस्यासँग जुधिरहेको छ । खर र बाँसले बनेको घरको छानो विभिन्न ठाउँबाट भत्किएको छ भने वर्षाको पानी रोक्न प्लास्टिकको त्रिपाल प्रयोग गरिएको छ । घरका भित्ताहरू चर्किएका र कतिपय भाग भासिँदै गएकाले वर्षाको समयमा घरभित्र बस्दा पनि भिज्नुपर्ने अवस्था रहेको प्रगास मण्डलले बताउनुभयो ।
दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका मण्डल बिहानै कामको खोजीमा निस्कनुहुन्छ र साँझ अबेर मात्र घर फर्कनुहुन्छ । दिनभरको कमाइले परिवारको छाक टार्नसमेत कठिन हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “दिनभरि पसिना बगाएर मजदुरी गर्छु, तर कमाइले घर खर्च पनि पुग्दैन । श्रीमती बिरामी भएर थला पर्नुभएको छ, औषधी किन्नसमेत पैसा छैन ।” उहाँकी श्रीमती लामो समयदेखि बिरामी रहेको र आर्थिक अभावका कारण नियमित उपचार गराउन नसकेको बताइएको छ । दुई छोरी र एक छोरा रहेका मण्डलले आर्थिक अभावकै कारण तीन वर्षअघि बिरामी अवस्थामा रहेको जन्मजात एक छोरा गुमाउनुपरेको पीडा पनि सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “छोरा बिरामी पर्दा धेरै ठाउँमा सहयोग माग्यौं, तर समयमा पैसा जुटेन । उपचार गराउन नसक्दा आफ्नै आँखाअगाडि छोरा गुमाउनुपर्यो ।” स्थानीय युवा अमरुल राइनका अनुसार मण्डलको परिवार वर्षौंदेखि यस्तै कष्टकर जीवन बिताउँदै आएको छ । सुरक्षित आवास, स्वास्थ्य उपचार र जीविकोपार्जनका लागि सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।
उनले स्थानीय सरकार र सरोकारवाला निकायले विपन्न परिवारका लागि कार्यक्रम सञ्चालन गरे पनि यस्ता परिवारसम्म सेवा पुग्न नसकेको उल्लेख गर्दै तत्काल सहयोग आवश्यक रहेको बताएका छन् ।