सरकारले मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ ।
सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयहरूको पुनःसंरचना गरिएपछि सचिवहरूको दरबन्दी मिलान गरिएको हो । दुई सचिवको दरबन्दी रहेका मन्त्रालयमा एक मात्र सचिव कायम गर्ने निर्णयअनुसार कूल २३ जना सचिवको पदस्थापन तथा जिम्मेवारी परिवर्तन गरिएको छ भने छ जना सचिवलाई विभिन्न निकायमा सरुवा गरिएको छ ।
नयाँ जिम्मेवारीअनुसार सचिव भुपाल बराल लाई गण्डकी प्रदेश, चन्द्रकला पौडेल लाई उपराष्ट्रपति कार्यालय, प्रमिलादेवी बज्राचार्य लाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, दिनानाथ मिश्र लाई राष्ट्रिय सतर्कता केन्द्र, चीरञ्जिवी चटौत लाई नेपाल ट्रष्ट तथा सरजुकुमार वैद्य लाई जल तथा ऊर्जा आयोगको सचिवालय मा सरुवा गरिएको छ ।
यसअघि अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मा दुई–दुई जना सचिव कार्यरत थिए ।
सरकारले छ जना सचिवलाई अतिरिक्त समूहमा राखेको छ । अतिरिक्त समूहमा लोकनाथ पौडेल, कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली, डा गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा तथा डण्डुराज घिमिरे रहेका छन् । सचिव डा. गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल को समन्वय गर्ने विशेष जिम्मेवारीसहित अतिरिक्त समूहमा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
त्यस्तै अतिरिक्त समूहका अर्का एक सचिवलाई सूचना प्रविधि (आईटी) क्षेत्रको समन्वय हेर्ने गरी नयाँ जिम्मेवारी दिने तयारी भइरहेको पनि जनाइएको छ ।