गृहमन्त्री पदमा सुधन गुरुङलाई पुनः जिम्मेवारी दिइने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गर्दै मंगलबार नै शपथका लागि सिफारिस गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । राष्ट्रपति कार्यालयमा शपथको तयारी पनि अघि बढाइएको छ ।
यसअघि लगानी तथा सम्पत्ति सम्बन्धी विवाद उठेपछि गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । २०८२ फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइ सिटसहित गठन भएको बालेन्द्र शाह नेतृत्वको सरकारमा उनलाई चैत १३ गते गृहमन्त्रीको जिम्मेवारी दिइएको थियो । त्यसपछि उठेका सम्पत्ति सम्बन्धी प्रश्नपछि २८ वैशाखमा सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए ।
छानबिन समितिले शुक्रबार प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको थियो, जसलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ग्रहण गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । समितिको प्रतिवेदनअनुसार गुरुङका नाममा धनकुटाको कार्कीछाप (भेडेटार क्षेत्र) मा १९ रोपनी १५ आना जग्गा, बाबुका नाममा चितवनको भरतपुर–१८ मा ३० कट्ठा तथा बाजुराको गोरखाको चुमनुव्रीमा २ सय २१ रोपनी जग्गा रहेको पाइएको छ ।
प्रतिवेदनमा यी सम्पत्तिहरूको मूल्यांकन गर्दा अस्वाभाविक नदेखिएको उल्लेख गरिएको छ ।