श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति सच्याउन संसदबाट संकल्प प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् ।
उनले प्रतिनिधिसभा बैठकमा उक्त प्रस्ताव पढेर सुनाउँदै संसद सचिवालयका अधिकारीहरूलाई बुझाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री, मन्त्री, सांसद तथा राजनीतिक नेताहरूले तथ्यहीन अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्न संकल्प प्रस्ताव आवश्यक रहेको बताए ।
सभामुखबाट समय पाएपछि उनले संसदमा सरकारको जवाफदेहिता र प्रधानमन्त्रीको उपस्थितिबारे प्रश्न उठाएका थिए । उनले प्रधानमन्त्रीलाई पटक–पटक बोलाउँदा पनि उपस्थित नहुने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
‘सबै जनालाई माया सम्झना, अब यो शैलीमा नबोली समस्या समाधान होला जस्तो लागेन। हामी धेरै नै औपचारिक भयौँ । औपचारिकता निभाउँदा निभाउँदै अब गाँठो पर्यो। कसरी फुकाउने ? प्रधानमन्त्रीज्यूलाई बोलाएको बोलायै गर्ने, उहाँ आउँदिन भन्नुहुन्छ । पकडेर, बोकेर ल्याउने चलन छैन । सभामुखज्यूले आउनुपर्छ भन्दा उहाँ मान्नु हुन्न । कहिलेकाहीँ आउनुहुन्छ। आएर फेरि के बोल्नुहुन्छ, समस्या त्यहीँ हुन्छ,’ उनले भने ।
साम्पाङले संसदमा पेश गरेको संकल्प प्रस्तावमा प्रधानमन्त्रीले प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै उक्त भनाइ राष्ट्रविरुद्ध, तथ्यहीन र आपत्तिजनक रहेको दाबी गरेका छन् ।
उनले उक्त अभिव्यक्तिलाई संसदको अभिलेखबाट तत्काल हटाउन, प्रधानमन्त्रीको लिखित स्पष्टीकरण समावेश गर्न तथा आगामी दिनमा प्रधानमन्त्री, मन्त्री, सांसद वा कुनै पनि सार्वजनिक पदाधिकारीले यस्ता राष्ट्रहितविपरीत र तथ्यहीन अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्न माग गरेका छन् ।
साथै राष्ट्रिय सार्वभौमिकता र अखण्डताको सवालमा सत्ता पक्ष र प्रतिपक्षभन्दा माथि उठेर सबै राजनीतिक दल तथा प्रतिनिधिहरू देशको पक्षमा एकताबद्ध हुनुपर्ने सन्देश दिन पनि उनले आग्रह गरेका छन् ।