नेपाल पत्रकार महासंघको निर्वाचनका लागि केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशित गरेको सदस्यता नामावलीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ३२ जिल्लाका अध्यक्षहरुले असन्तुष्टि जनाएका छन् ।
सदस्यता शुद्धीकरण मापदण्ड २०७९ विपरीत नयाँ थपिएका सदस्यहरूलाई हटाउन माग गर्दै, निर्णय नगरेसम्म जिल्लामा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसक्ने जानकारी विज्ञप्ती मार्फत केन्द्रिय समितिलाई जानकारी गराएको छ । संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै असन्तुष्ट जिल्ला अध्यक्षहरुले सदस्यता वितरन तथा निमावलिमा राजीनामा दिएर स्वीकृत भइसकेका अध्यक्ष विपुल पोखरेलको हस्ताक्षर सहितको नामावली प्रकाशित गर्नु विधानविपरीत भएको ठहर गरेको छ । यस्तै महासंघको विधानअनुसार सदस्यता वितरण र नवीकरण शाखाको सिफारिसमा प्रदेशले अनुमोदन गरी केन्द्रले अभिलेखिकरण गर्नुपर्ने व्यवस्था रहेकोमा सो व्यवस्था उल्लङ्घन गरिएको आरोप लगाइएको छ ।
यस्तै निर्वाचन समितिले प्रकाशित नामावलीमा दावी–उजुरीको प्रक्रिया चलिसकेको अवस्थामा निर्वाचन निर्देशिका र कार्यविधिको उल्लङ्घन गर्दै निर्वाचनको सामान्य सिद्धान्त तथा विधिपद्धतिलाई बेवास्ता गरिएको विज्ञप्तीमा आरोप लगाइएको छ ।
यदि निर्वाचन कार्यक्रमलाई जबरजस्ती अघि बढाउन खोजिएमा उत्पन्न परिस्थितीको जिम्मेवारी महासंघ केन्द्र र निर्वाचन समितिलाई नै हुने चेतावनी पनि दिइएको छ ।
समस्याको समाधानका लागि राष्ट्रिय भेला बोलाउन आग्रह गर्दै नमाने कानुनी उपचारमा जान बाध्य हुने चेतावनीसमेत सम्बन्धित पक्षलाई दिइएको छ ।