निर्वाचन आयोगले एक तहको निर्वाचनमा पराजित भएपछि सोही कार्यकालभित्र अन्य कुनै तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने गरी कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ । आयोगले तयार पारेको निर्वाचनसम्बन्धी एकीकृत कानुनको मस्यौदामा यस्तो व्यवस्था समेटिएको हो ।
मस्यौदाअनुसार संघ, प्रदेश वा स्थानीय तहको निर्वाचनमा पराजित व्यक्ति सम्बन्धित पदको कार्यकाल पूरा नभएसम्म अन्य तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने प्रस्ताव गरिएको छ । तर, उनीहरूले सोही क्षेत्र वा तहमा हुने उपनिर्वाचनमा भने प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था राखिएको छ ।
जेठ १९ गते गृह मन्त्रालयमा पठाइएको मस्यौदामा उम्मेदवारको योग्यता तथा अयोग्यतासम्बन्धी प्रावधानलाई थप कडा बनाइएको छ । प्रतिनिधिसभा वा प्रदेशसभामा दुई पटक समानुपातिक प्रणालीबाट निर्वाचित भइसकेका व्यक्तिलाई पुनः सोही प्रणालीबाट उम्मेदवार बन्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यस्तै, निर्वाचन खर्च विवरण नबुझाउने व्यक्तिलाई छ वर्षसम्म चुनाव लड्न रोक लगाउने, एउटै दलको सदस्य रहँदा अर्को दलबाट उम्मेदवार बन्न नपाउने तथा निर्वाचन कसुरमा दोषी ठहर भएकालाई निश्चित अवधिसम्म उम्मेदवारी दिन नपाउने प्रावधान पनि समेटिएको छ ।
आयोगले निर्वाचन मिति कानुनमै तोक्ने, प्रचारप्रसार अवधि सीमित गर्ने तथा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्ने प्रस्ताव पनि गरेको छ । समानुपातिकतर्फ दलहरूले न्यूनतम २५ प्रतिशत बन्दसूची पेस गर्नुपर्ने व्यवस्था पनि प्रस्तावमा छ ।
विदेशमा रहेका नेपालीलाई दूतावासमार्फत समानुपातिकतर्फ मतदान गर्न दिने, ‘राइट टु रिजेक्ट’ (कुनै पनि उम्मेदवारलाई मत नदिने विकल्प) र विद्युतीय मतदान प्रणालीको सम्भावनासमेत मस्यौदामा समेटिएको छ ।
यसैगरी, निर्वाचन खर्चका लागि छुट्टै बैंक खाता प्रयोग नगर्ने दल वा उम्मेदवारलाई पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको धरौटी रकम १० हजारबाट बढाएर ४० हजार रुपैयाँ पुर्याउने प्रस्ताव पनि गरिएको छ ।
हालसम्म पराजयपछि पनि वैकल्पिक माध्यमबाट पुनः संसद् वा सत्तामा पुग्ने प्रवृत्ति बढिरहेका बेला आयोगको यो प्रस्तावलाई निर्वाचन प्रणालीलाई थप जवाफदेही बनाउने प्रयासका रूपमा हेरिएको छ । तर, यसले राजनीतिक अधिकार सीमित गर्ने कि लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने भन्ने विषयमा आगामी दिनमा व्यापक बहस हुने देखिन्छ ।