दिनभरि उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता महोत्तरीसहित आसपासका जिल्लामा प्रत्येक रात वर्षा हुन थालेपछि सर्वसाधारण र किसानलाई राहत मिलेको छ ।
जेठको चौथो साता सुरु भएयता निरन्तरजसो राति पानी परिरहेको छ । यसअघि जेठको तेस्रो सातादेखि अत्यधिक गर्मी बढ्दा जनजीवन कष्टकर बनेको थियो । दिनभरि तापक्रम ३८ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने गरे पनि रातिको वर्षाले गर्मीको प्रभाव केही कम गरेको स्थानीयवासी बताउँछन् ।
गौशाला–१ रामनगरका ६५ वर्षीय गणेश महतोले रातिको वर्षाले गर्मीबाट राहत मिल्नुका साथै खेतीपातीका लागि पनि फाइदा पुगेको बताए । उनका अनुसार निरन्तर वर्षाका कारण खेतबारीमा आवश्यक चिस्यान पुगेको छ । वर्षापछि माटोमा पर्याप्त चिस्यान कायम भएपछि किसानहरू धानको ब्याड राख्न व्यस्त भएका छन् । बर्दिबास–६ कृष्णपुरका किसान रघु काफ्लेले हिले ब्याड राख्न पर्याप्त पानी नभए पनि धुले ब्याड राख्न अनुकूल वातावरण बनेको बताए । किसानहरूले धानसँगै कोदोको ब्याड पनि राख्न थालेका छन् ।
किसानका अनुसार पछिल्लो वर्षाले उखु, मकै तथा तरकारीबालीलाई समेत ठूलो राहत पुगेको छ । लामो समय पानी नपर्दा सिँचाइको समस्या हुने र पानीका स्रोत सुक्ने चिन्ता बढेको थियो ।
अत्यधिक गर्मीका कारण जेठको तेस्रो साताको अन्त्यतिर जिल्लाका विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णयसमेत गरेका थिए । तर पछिल्ला दिनमा मौसममा सुधार आएपछि बन्द गरिएका विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् । बर्दिबास नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका अधिकृत रमण निरौलाका अनुसार सोमबारदेखि विद्यालयहरू नियमित रूपमा सञ्चालन हुन थालेका छन् । स्थानीयवासीले निरन्तर वर्षाका कारण इनार, चापाकल, खोल्सा तथा नदीका मुहानमा पानी पुनः रसाउने अपेक्षा गरेका छन् ।
भङ्गाहा–४ रामनगरका किसान कुशेश्वर यादवले पानीका स्रोत पुनः भरिन थाले खानेपानी र सिँचाइको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।