जल तथा मौसम विज्ञान विभाग जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेस प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा भने तातो दिन रहने सम्भावना पनि छ । राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा समेत वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।