प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्न सत्ता र प्रतिपक्षी दलहरू संवादमा जुटेका छन् ।
सहमति खोज्ने प्रयासस्वरूप सत्ता र प्रतिपक्षी दलबीच सिंहदरबारस्थित संघीय संसद भवनमा छलफल जारी रहेकाले बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, मुख्य सचेतक कबिन्द्र बुर्लाकोटी, सचेतक क्रान्तिशिखा धिताल, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक बासना थापा, सचेतक निश्कल राई, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, प्रमुख सचेतक ऐन महर, नेकपाका नेताहरू प्रमेश हमाल, वर्षमान पुन र युवराज दुलाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओली तथा कानुनमन्त्री सोविता गौतम सहभागी छन् । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी भने छलफलमा सहभागी छैन ।
प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रमका क्रममा ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले उक्त अभिव्यक्ति सच्याउँदै संसदमा आएर माफी माग्नुपर्ने माग गरेका छन् । सोही विषयलाई लिएर विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् । अवरोधका कारण जेठ १८, १९, २५ र २६ गतेका प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएका थिए। यसले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलसमेत प्रभावित बनेको छ ।
रास्वपा सभापति रवि लामिछानेले जेठ २५ गते बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीले जवाफ दिने र आवश्यक परे आफूले पनि धारणा राख्ने विकल्प अघि सारेका थिए । तर विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने अडान कायम राखेका छन् । आज पनि सहमति जुट्न नसके बजेटमाथिको छलफल अगाडि बढाउनुपर्ने दबाबका कारण अवरोधकै बीच प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने तयारी सत्ता पक्षले गरेको छ ।
यसअघि जेठ २६ गतेको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल प्रधानमन्त्रीको अभिव्यक्तिबारे जवाफ दिन उपस्थित भएका थिए । तर विपक्षी दलहरूले प्रधानमन्त्रीकै भनाइबारे प्रधानमन्त्रीबाटै स्पष्टीकरण आउनुपर्ने अडान लिएपछि बैठक सञ्चालन हुन सकेको थिएन ।