कम उमेरमै क्यान्सर रोग बढ्नुको पछाडि खराब वा अपूर्ण निद्रा एउटा प्रमुख कारण हुन सक्ने दुईवटा ठूला अध्ययनले देखाएका छन् ।
पछिल्लो तीन दशकमा ५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सरको प्रकोप झन्डै ८० प्रतिशतले बढेको तथ्य सार्वजनिक भएको छ । अनुसन्धानअनुसार सन् १९९० मा विश्वभर ५० वर्षभन्दा कम उमेरका करिब १८ लाख २० हजार मानिसमा क्यान्सर देखिएकोमा सन् २०२१ सम्म आइपुग्दा यो संख्या बढेर ३२ लाख ६० हजार पुगेको छ। त्यस्तै, ३० र ४० वर्ष उमेर समूहका मानिसमा क्यान्सरका कारण हुने मृत्यु दर पनि २७ प्रतिशतले वृद्धि भएको अध्ययनले देखाएको छ ।
युवाहरूमा क्यान्सर तीव्र रूपमा बढ्नुको कारण पत्ता लगाउन विश्वभरका वैज्ञानिकहरू अनुसन्धानमा जुटिरहेका बेला अमेरिकाको शिकागोमा आयोजित विश्वकै ठूलो क्यान्सर सम्मेलन ‘अमेरिकन सोसाइटी अफ क्लिनिकल ओन्कोलोजी’ मा प्रस्तुत अध्ययनले अनियमित निद्रालाई सम्भावित प्रमुख कारणका रूपमा औँल्याएको हो ।
विश्वप्रसिद्ध एमडी एण्डरसन क्यान्सर सेन्टर, टेक्सासले गरेको अनुसन्धानमा अमेरिकाका १८ देखि ५० वर्ष उमेर समूहका १ करोड ८० लाखभन्दा बढी व्यक्तिको स्वास्थ्य तथ्यांक विश्लेषण गरिएको थियो । अध्ययनअनुसार खराब निद्राको समस्या भएका व्यक्तिहरूमा आन्द्रा, स्तन, पाठेघर तथा डिम्बाशयको क्यान्सर हुने सम्भावना उल्लेखनीय रूपमा बढी पाइएको छ ।
अनुसन्धानकर्ताहरूले अनिद्राको समस्या झेलिरहेका ५० वर्षभन्दा कम उमेरका मानिसहरूमा पाँच वर्षभित्र क्यान्सर हुने जोखिम तीन गुणासम्म बढी देखिएको बताएका छन् । उनीहरूका अनुसार निद्रामा हुने अवरोध क्यान्सरको जोखिमसँग सम्बन्धित परिवर्तन गर्न सकिने महत्वपूर्ण कारक हुन सक्छ ।
यद्यपि, विज्ञहरूले यो अध्ययनले अनिद्रा र क्यान्सरबीच सम्बन्ध देखाएको भए पनि निद्राकै कारण क्यान्सर हुन्छ भन्ने ठोस प्रमाण भने अझै स्थापित नभएको बताएका छन् । खराब निद्राले शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउने र त्यसले क्यान्सरको जोखिम बढाउन सक्ने सम्भावना औँल्याइएको छ ।
‘बावेल क्यान्सर युके’ की क्लिनिकल लिड क्लेयर कगलानले युवाहरूमा आन्द्राको क्यान्सर बढ्दै गएको भन्दै अनियमित जीवनशैली, वंशाणुगत कारण र निद्राको समस्याबीच सम्बन्ध हुन सक्ने बताइन् । त्यस्तै, ‘क्यान्सर रिसर्च युके’ की स्वास्थ्य सूचना प्रबन्धक मेगन विन्टरले धूम्रपान नगर्ने, स्वस्थ तौल कायम राख्ने, नियमित व्यायाम गर्ने र पर्याप्त निद्रा लिने बानीले क्यान्सरको जोखिम कम गर्न सहयोग पुग्ने बताएकी छन् ।
विशेषज्ञहरूले अनिद्रा र क्यान्सरबीचको सम्बन्धबारे अझ गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् ।