मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत विद्युत् प्रसारण आयोजनाको निर्माण कार्य सुरु भएको छ ।
संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान तथा नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा विद्युत् प्रसारण पूर्वाधार र सडक स्तरोन्नति आयोजना सञ्चालन भइरहेको हो ।
आयोजना अन्तर्गत तीन वटा उच्च क्षमतायुक्त ४०० केभी सबस्टेसन र ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ । सोही अन्तर्गत नुवाकोटको रातमाटे तथा नयाँ दमौली सबस्टेसनसँगै २९७ किलोमिटर लामो प्रसारण लाइनको शिलान्यास गरिएको छ । निर्माण हुने प्रसारण लाइनमा लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा, रातमाटे–न्यू दमौली तथा न्यू दमौली–न्यू बुटवल खण्ड समावेश छन् ।
टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी ले रातमाटे र न्यू दमौली सबस्टेसन निर्माण गर्दैछ । त्यसैगरी आशिष–बोझ्लर संयुक्त उपक्रम ले ११७ किलोमिटर लामो लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा खण्ड, एञ्जेलिक–स्किपर संयुक्त उपक्रम ले ९० किलोमिटर लामो रातमाटे–न्यू दमौली खण्ड तथा वाइबा–सालसर संयुक्त उपक्रम ले ९० किलोमिटर लामो न्यू दमौली–न्यू बुटवल खण्ड निर्माण गर्नेछन् ।
निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली नेपालकै सबैभन्दा ठूला उच्च–भोल्टेज क्षमताका सबस्टेसनमध्ये पर्ने जनाइएको छ । यी पूर्वाधारले नेपालको राष्ट्रिय विद्युत् ग्रीडलाई सुदृढ बनाउनुका साथै विद्युत् प्रसारण अवरोध न्यूनीकरण, ऊर्जा आपूर्ति भरपर्दो बनाउने तथा क्षेत्रीय ऊर्जा बजारमा नेपालको सहभागिता विस्तार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
अर्थ सचिव तथा एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्याय ले आयोजनालाई नेपालको आर्थिक भविष्यसँग जोडिएको महत्वपूर्ण लगानीको रूपमा वर्णन गरेका छन् । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बम ले यी पूर्वाधारले नेपालको ऊर्जा भविष्यलाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।
त्यस्तै, एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्को ले नेपालको आर्थिक वृद्धि र क्षेत्रीय ऊर्जा एकीकरणका लागि प्रसारण प्रणाली सुदृढ बनाउनु आवश्यक रहेको बताए । नेपाल विद्युत् प्राधिकरण का कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ ले यी आयोजना नेपालको राष्ट्रिय प्रसारण सञ्जालको महत्वपूर्ण विस्तार भएको बताए ।
त्यस्तै एमसीए–नेपाल का कार्यकारी निर्देशक खड्गबहादुर बिष्ट ले आयोजनाले प्रसारण अवरोध न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।