सरकारी निकायका वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, समावेशी र प्रयोगमैत्री बनाउन पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) समावेश गरिएको छ । यससँगै सरकारी डिजिटल सेवामा अपाङ्गता भएका तथा विशेष आवश्यकता भएका व्यक्तिहरूको पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ ।
सूचना प्रविधि विभाग का अनुसार दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग पहिचानमा समस्या भएका, पढाइसम्बन्धी कठिनाइ भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्तालाई लक्षित गरी यो सुविधा लागू गरिएको हो । विभागले सबै सरकारी वेबसाइटमा उक्त पहुँचमैत्री सुविधा उपलब्ध गराइएको जनाएको छ ।
सूचना अधिकारी प्रकाश दवाडी का अनुसार डिजिटल सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न तथा अपाङ्गता भएका व्यक्तिको सूचना प्राप्त गर्ने अधिकारलाई प्रभावकारी बनाउन यो प्रणाली कार्यान्वयनमा ल्याइएको हो ।
सरकारले गत चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नम्बर ३० मा सरकारी एप तथा पोर्टललाई अपाङ्गता भएका व्यक्ति तथा कम प्राविधिक ज्ञान भएका नागरिकले पनि सहज रूपमा प्रयोग गर्न सक्ने गरी सरल बनाउने उल्लेख गरिएको थियो ।
हाल सरकारी वेबसाइटहरूमा प्रवेश गर्नासाथ तल्लो भागको बीचमा ‘एक्सेसिबिलिटी टुल आइकन’ देखिन्छ । उक्त उपकरण प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार वेबसाइटको स्वरूप र सामग्री समायोजन गर्न सक्छन् ।
यसअन्तर्गत अक्षरको आकार सानो वा ठूलो बनाउने, रङ्ग कन्ट्रास्ट (पृष्ठभूमि र अक्षरबीचको भिन्नता) बढाएर सामग्री स्पष्ट देखिने बनाउने, विभिन्न रङ्ग फिल्टर प्रयोग गर्ने, अक्षर तथा लाइन स्पेसिङ मिलाउने र फन्ट परिवर्तन गर्ने सुविधा उपलब्ध छन् । त्यसैगरी, माउस कर्सर सानो–ठूलो बनाउने, वेबसाइटका सबै तस्बिर लुकाएर केवल पाठ मात्र पढ्ने, तथा चलायमान दृश्य (एनिमेसन) रोक्ने सुविधा पनि समावेश गरिएको छ ।
सूचना प्रविधि विभाग का अनुसार यी वेबसाइटहरू अन्तर्राष्ट्रिय मापदण्ड ‘वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन (WCAG)’ अनुसार विकास गरिएका हुन्, जसले किबोर्डको प्रयोगबाट मात्र पनि सहज रूपमा सञ्चालन गर्न सकिन्छ ।
सरकारी वेबसाइटमा राखिएको ‘स्किप नेभिगेसन’ लिङ्कले प्रयोगकर्तालाई सिधै मुख्य सामग्रीमा पुग्न सहयोग गर्छ भने तस्बिर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा राखिएको ‘अल्ट टेक्स्ट’ले दृष्टिविहीन प्रयोगकर्तालाई सामग्री बुझ्न सहयोग पुर्याउँछ ।
त्यसैगरी, खोज (सर्च) तथा सम्पर्क फारामजस्ता इनपुट क्षेत्रहरू स्पष्ट रूपमा लेबल गरिएको छ भने त्रुटि सन्देश र सुझावहरू स्क्रिन रिडरमार्फत सजिलै सुन्न र बुझ्न मिल्ने बनाइएको विभागले जनाएको छ । किबोर्ड प्रयोगकर्ताले आफू वेबसाइटमा कहाँ छन् भन्ने कुरा पनि स्पष्ट रूपमा थाहा पाउन सक्ने व्यवस्था गरिएको छ ।
यसअघि गत वैशाखमा विभागले अपाङ्गमैत्री सुविधासहितको सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली अद्यावधिक गर्ने सम्बन्धमा सम्बन्धित मन्त्रालय तथा विभागका प्राविधिक कर्मचारीलाई तालिम समेत प्रदान गरेको थियो ।
यस कदमलाई डिजिटल नेपाल अभियानतर्फको महत्वपूर्ण उपलब्धि मानिएको छ, जसले सरकारी सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।