गृहमन्त्री सुधन गुरुङले सरकारले डोजर लगाएर हटाएका सुकुम्बासीहरूसँग माफी मागेका छन् ।
बिहीबार बिहान बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री गुरुङले सुकुम्बासी व्यवस्थापनमा राज्यबाट कमजोरी भएको स्वीकार गर्दै माफी मागेका हुन् ।
उनले भने, “सबै सुकुम्बासी दाजुभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट माफी माग्न चाहन्छु । मैले देखिरहँदा मलाई पनि गाह्रो भएको थियो। प्रिभेन्टिभ रूपमा राम्रोसँग व्यवस्थापन गर्न सकिन्थ्यो होला ।” मन्त्री गुरुङका अनुसार सुकुम्बासीको अहिलेको अवस्था विपद् प्रभावितजस्तो देखिएको छ । उनले टेन्टमा बस्ने, सरसफाइ तथा स्यानिटेसनको समस्या रहेको उल्लेख गर्दै अवस्था गम्भीर रहेको बताए ।
“विपद् आइसकेपछिको फेज उहाँहरूको देखिएको छ,” उनले भने, “टेन्टमा बस्नुपरेको, स्यानिटाइजेसनको समस्या छ, अवस्था विपद्जस्तै छ ।” उनले आफू पदमा आएपछि सुकुम्बासी व्यवस्थापनका लागि अनुगमन गर्ने र आवश्यक तयारीसहित निर्देशन जारी गर्ने प्रक्रियामा रहेको जानकारी पनि समितिलाई दिएका छन् ।
मन्त्री गुरुङले सुकुम्बासी व्यवस्थापनमा सरकारले थप संवेदनशील भएर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।