व्यवस्थापन लेखा प्रणालीलाई आधुनिक प्रविधिसँग एकीकृत गरी व्यवसायिक निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउन सकिने विषयमा डा. अञ्जय कुमार मिश्रसहितको अनुसन्धान टोलीले महत्वपूर्ण अध्ययन सार्वजनिक गरेको छ ।
“The Future of Management Accounting: Integrating Artificial Intelligence, Big Data, and Predictive Analytics for Business Optimization” शीर्षकको उक्त अध्ययनमा कृत्रिम बुद्धिमत्ता (एआई), बिग डेटा तथा प्रेडिक्टिभ एनालिटिक्सले व्यवस्थापन लेखाको भविष्यलाई कसरी रूपान्तरण गर्न सक्छन् भन्ने विषयमा विस्तृत विश्लेषण गरिएको छ ।
अनुसन्धान टोलीमा डा. अञ्जय कुमार मिश्रका साथै एम्बोनिगाबा सेलेस्टिन र शिला मिश्र सहभागी रहेका छन् । अध्ययनले सन् २०२० देखि २०२४ सम्म प्रकाशित विभिन्न अन्तर्राष्ट्रिय उद्योग प्रतिवेदन, अनुभवजन्य अनुसन्धान तथा तथ्यांकहरूको विश्लेषणमार्फत व्यवस्थापन लेखामा प्रविधिको प्रभाव मूल्यांकन गरेको जनाएको छ ।
अध्ययनअनुसार एआईको प्रयोगले निर्णय क्षमतामा उल्लेखनीय सुधार ल्याउने, बिग डेटाको उपयोगले वित्तीय पूर्वानुमानको शुद्धता बढाउने तथा प्रेडिक्टिभ एनालिटिक्सले लागत न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने देखिएको छ । अनुसन्धानमा एआईको प्रयोग र निर्णय दक्षताबीच R² = 0.997, बिग डेटा उपयोग र वित्तीय पूर्वानुमानको शुद्धताबीच R² = 1.000 तथा प्रेडिक्टिभ एनालिटिक्स र लागत न्यूनीकरण क्षमताबीच R² = 0.997 को उच्च सम्बन्ध फेला परेको छ ।
अध्ययनले यी तीन प्रविधिको संयुक्त प्रभाव व्यवस्थापन लेखामा अत्यन्त महत्वपूर्ण रहेको निष्कर्ष निकालेको छ । समग्र सहसम्बन्ध गुणांक 0.999 देखिनुले एआई, बिग डेटा र प्रेडिक्टिभ एनालिटिक्सले व्यवस्थापन लेखा अभ्यासलाई थप डिजिटल, तथ्यांक–आधारित र रणनीतिक बनाउँदै लगेको पुष्टि गरेको अध्ययनमा उल्लेख छ ।
अनुसन्धान टोलीका अनुसार एआई–आधारित प्रणालीहरूले वित्तीय प्रतिवेदनको शुद्धता वृद्धि, ठगी पहिचान, जोखिम व्यवस्थापन, रणनीतिक बजेट निर्माण तथा व्यवसायिक योजना तर्जुमामा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। अध्ययनले संस्थाहरूलाई परम्परागत लेखा प्रणालीबाट अघि बढेर तथ्यांक र प्रविधिमा आधारित निर्णय प्रणाली विकास गर्न प्रेरित गर्ने निष्कर्ष निकालेको छ ।
यद्यपि, अध्ययनले प्रविधि कार्यान्वयनका क्रममा देखिने चुनौतीहरूलाई पनि औंल्याएको छ। डेटा सुरक्षा जोखिम, नियामकीय पालना, उच्च कार्यान्वयन लागत तथा दक्ष जनशक्तिको अभाव अझै पनि प्रमुख अवरोधका रूपमा रहेको उल्लेख गरिएको छ। यी चुनौतीहरूको समाधानका लागि संगठनात्मक तयारी, निरन्तर तालिम, साइबर सुरक्षा संरचनाको सुदृढीकरण तथा नैतिक प्रविधि प्रयोगलाई प्राथमिकता दिनुपर्ने सुझाव अध्ययनले दिएको छ ।
अध्ययनले डिजिटल युगमा प्रतिस्पर्धात्मक लाभ
कायम राख्न तथा वित्तीय निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन एआई, बिग डेटा र प्रेडिक्टिभ एनालिटिक्सको एकीकृत प्रयोग अब विकल्प नभई आवश्यकता बनिसकेको निष्कर्ष प्रस्तुत गरेको छ । व्यवस्थापन लेखाको भविष्य प्रविधिमैत्री, पूर्वानुमान–आधारित तथा रणनीतिक हुने भएकाले व्यवसायिक संस्थाहरूले समयमै डिजिटल रूपान्तरणलाई आत्मसात गर्नुपर्नेमा अध्ययनले जोड दिएको छ ।
डा. अञ्जय कुमार मिश्र र उनको टोलीको उक्त अनुसन्धानलाई व्यवस्थापन लेखा, वित्तीय योजना तथा व्यवसाय अनुकूलनका क्षेत्रमा महत्वपूर्ण योगदानका रूपमा हेरिएको छ । विशेषगरी विकासोन्मुख अर्थतन्त्र भएका मुलुकहरूका लागि यस अध्ययनले प्रविधिमा आधारित लेखा प्रणाली विकास गर्न नीतिगत तथा व्यावहारिक मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।