बालिका अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा अदालतबाट सफाइ पाएपछि नेकपा एमालेका नेता शिवशंकर साह हिराले आफूलाई राजनीतिक प्रतिशोधका कारण फसाउने प्रयास भएको आरोप लगाएका छन् ।
जिल्ला अदालत धनुषाले उक्त मुद्दामा शिवशंकर साह हिरासहित अमित ठाकुर, संजय महासेठ, मनोज साह, रामकुमार साह र रामबाबु झालाई आरोप पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको निष्कर्षसहित सफाइ दिएको थियो ।
अदालतको फैसलापछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता हिराले आफ्नो राजनीतिक जीवन समाप्त पार्ने उद्देश्यले केही राजनीतिक दलका नेताहरूले प्रहरीको सहयोगमा आफूलाई गम्भीर अपराधमा फसाउन खोजेको दाबी गरे ।
उनले विगतमा आफूसँग निर्वाचनमा प्रतिस्पर्धा गरेका तथा आगामी निर्वाचनमा आकांक्षी रहेका केही राजनीतिक व्यक्तिहरूले तत्कालीन प्रहरी उपरीक्षकलाई प्रभावमा पारेर आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए ।
“ममाथि लगाइएका आरोप अत्यन्त गम्भीर थिए। ती आरोपका कारण मेरो राजनीतिक जीवन, सामाजिक प्रतिष्ठा र पारिवारिक जीवनमा ठूलो असर परेको थियो । तर सम्मानित अदालतले तथ्य, प्रमाण, बयान तथा अनुसन्धानका आधारमा निर्णय गर्दै हामी सबैलाई सफाइ दिएको छ,” उनले भने ।
हिराले आफू सुरुदेखि नै निर्दोष रहेको दाबी गर्दै अदालतको फैसलाले सत्य स्थापित भएको बताए। अदालतको निर्णयलाई सम्मान गर्दै उनले न्यायालयप्रति विश्वास व्यक्त गरे ।
उनका अनुसार मुद्दाका क्रममा कथित पीडित बालिका तथा उनकी आमाले अदालतमा दिएको बयानबाट समेत अभियोग पुष्टि हुन नसकेको र अनुसन्धानबाट आरोप स्थापित नभएको विषय अदालतको फैसलामा उल्लेख गरिएको छ ।
घटनामा शिवशंकर साह हिरा, अमित ठाकुर र संजय महासेठमाथि अपहरणको अभियोग लगाइएको थियो भने अन्य आरोपितविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दायर गरिएको थियो ।
अदालतको फैसलापछि आफू अझ जिम्मेवार बनेको उल्लेख गर्दै हिराले आगामी दिनमा जनताको सेवामा थप सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।