धनगढी । भारतीय सीमा सुरक्षा बल (आईटीबीपी) का महानिर्देशक सवार हेलिकोप्टर नेपाली पक्षको अनुमति नलिई नेपालको हवाई क्षेत्र प्रयोग गरेको पाइएको छ ।
आईटीबीपीका महानिर्देशकलाई लिएर कालापानी क्षेत्रको गुञ्जीस्थित युनिट निरीक्षणका लागि गएको भारतीय हेलिकोप्टरले नेपाली आकाश प्रयोग गर्दै उडान भरेको पाइएको हो । उक्त हेलिकोप्टर गत मंगलबार दार्चुलाको आकाशमा उडेको बताइएको छ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि देशको अनुमति नलिई अर्को देशको हवाई क्षेत्रमा विमान वा हेलिकोप्टर प्रवेश गर्नुलाई हवाई क्षेत्र उल्लंघन (एयर स्पेस भायोलेसन) मानिन्छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भारतीय प्रशासनसँग यस विषयमा मौखिक रूपमा कुरा भइसकेको र आवश्यक परे औपचारिक पत्राचारसमेत गरिने जानकारी दिए ।
‘हेलिकोप्टर नेपाली भूमिमा अवतरण गरेको होइन, तर नेपाली आकाश प्रयोग गरेको देखिन्छ । कहिलेकाहीँ प्राविधिक कारणले यस्तो हुन सक्ने भए पनि अर्को देशको हवाई क्षेत्र अनुमति बिना प्रयोग गर्न पाइँदैन । यस विषयमा भारतीय प्रशासनको ध्यानाकर्षण गराइसकेका छौं,’ उनले भने ।
प्रशासनका अनुसार उडानअघि सम्बन्धित निकायलाई पूर्वजानकारी दिनुपर्ने सामान्य प्रक्रिया भए पनि भारतीय पक्षबाट कुनै जानकारी प्राप्त भएको थिएन । घटनाबारे पिथौरागढस्थित भारतीय जिल्ला प्रशासनसँग पनि औपचारिक रूपमा जानकारी माग्ने तयारी भइरहेको जनाइएको छ ।
दार्चुला क्षेत्रमा भारतीय हेलिकोप्टरले नेपाली आकाश प्रयोग गरेको घटना यसअघि पनि सार्वजनिक हुँदै आएका छन् । केही समयअघि कालापानी क्षेत्रतर्फ जाने क्रममा भारतीय हेलिकोप्टरले दार्चुलाको आकाश प्रयोग गरेपछि नेपाल सरकारले भारतलाई कूटनीतिक नोटमार्फत ध्यानाकर्षण गराएको थियो ।