नेपालको इन्टरनेट बजारमा सेवा प्रदायकहरूबीचको प्रतिस्पर्धा झनै तीव्र बनेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो एमआईएस प्रतिवेदनअनुसार फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ भने बजार हिस्सामा पनि ठूलो परिवर्तन देखिएको छ ।
पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार समग्र फिक्स्ड ब्रोडब्यान्ड (एफटीटीएच, एडीएसएल, केबल तथा वायरलेस इन्टरनेट) ग्राहक सङ्ख्या साढे ३ लाखभन्दा बढीले वृद्धि भएको छ । वैशाख २०८२ मा ३१ लाख ३२ हजार ३ सय ५० रहेको ग्राहक सङ्ख्या २०८३ वैशाखसम्म बढेर ३४ लाख ८७ हजार ९ सय ७२ पुगेको छ ।
यससँगै फिक्स्ड ब्रोडब्यान्डको पहुँच ४६.४९ प्रतिशतबाट बढेर ५१.७९ प्रतिशत पुगेको छ । पछिल्लो समय विशेषगरी फाइबर इन्टरनेटको माग तीव्र रूपमा बढ्दै गएको देखिएको छ ।
शीर्ष तीन सेवा प्रदायक यथावत्
बजारमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड शीर्ष स्थानमा कायमै रहेको छ । २०८२ मा १० लाख ३ हजार ९ सय ४९ ग्राहक रहेको कम्पनीको ग्राहक सङ्ख्या २०८३ मा बढेर १० लाख ७८ हजार ७ सय ९ पुगेको छ । तर, बजार हिस्सा भने ३२.०५ प्रतिशतबाट घटेर ३०.९३ प्रतिशतमा झरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाल टेलिकमको ग्राहक सङ्ख्या ३ लाख ५१ हजार ९१२ बाट बढेर ३ लाख ८३ हजार १०१ पुगेको छ । यसको बजार हिस्सा ११.२३ प्रतिशतबाट घटेर १०.९८ प्रतिशतमा सीमित भएको छ ।
त्यसैगरी तेस्रो स्थानमा रहेको डिश मिडिया नेटवर्क (डिशहोम) ले आफ्नो ग्राहक सङ्ख्या ३ लाख ५० हजार ४०६ बाट बढाएर ३ लाख ६९ हजार २१८ पुर्याएको छ ।
भायानेट र क्लासिक टेकको तीव्र वृद्धि
पछिल्लो एक वर्षमा भायानेट कम्युनिकेसन लिमिटेड र क्लासिक टेक प्रालिले उल्लेख्य वृद्धि गरेका छन् ।
भायानेटले ७.८५ प्रतिशत बजार हिस्सासहित पाँचौँ स्थानबाट चौथो स्थानमा उक्लिँदै सुबिसुलाई पछि पारेको छ । यसको ग्राहक सङ्ख्या २ लाख ४५ हजार ९ सय ४५ बाट बढेर ३ लाख ६३ हजार ३७ पुगेको छ र बजार हिस्सा १०.४१ प्रतिशत पुगेको छ ।
क्लासिक टेक छैटौँ स्थानबाट पाँचौँ स्थानमा उक्लिएको छ । यसको ग्राहक सङ्ख्या १ लाख ८२ हजार ९ सय ८६ बाट बढेर २ लाख ८६ हजार ९ सय ५३ पुगेको छ। बजार हिस्सा पनि ५.८४ प्रतिशतबाट बढेर ८.२३ प्रतिशत पुगेको छ ।
सुबिसुलाई ठूलो धक्का
समग्र बजार विस्तार भए पनि सुबिसु केबलनेट लिमिटेडले भने ग्राहक गुमाएको छ। २०८२ मा ३ लाख १० हजार २ सय ९४ ग्राहकसहित चौथो स्थानमा रहेको सुबिसु २०८३ मा घटेर २ लाख ६४ हजार ८ सय ४९ ग्राहकमा झरेको छ ।
यससँगै सुबिसुको बजार हिस्सा ९.९१ प्रतिशतबाट घटेर ७.५९ प्रतिशतमा झरेको छ र कम्पनी चौथोबाट छैटौँ स्थानमा खस्किएको छ। यस अवधिमा सुबिसुले ४५ हजारभन्दा बढी ग्राहक गुमाएको छ ।
त्यस्तै, साना सेवा प्रदायकमध्ये वाईफाई नेपाल प्रालिले उल्लेख्य वृद्धि गर्दै नवौँ स्थानमा उक्लिएको छ । अघिल्लो वर्ष करिब ७४ हजार ग्राहक रहेको कम्पनीको ग्राहक सङ्ख्या बढेर १ लाख ११ हजारभन्दा बढी पुगेको छ ।