कैलालीको गोदावरी नगरपालिका–४ मा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले समिति गठन गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डा. हेमराज बिष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार मन्त्रीस्तरीय निर्णयबाट गठन गरिएको समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
समितिका सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा रहेका छन् ।
जेठ २९ गते वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले एउटा टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा र विवाद सिर्जना गरेको थियो ।
घटनापछि प्रदेश सरकारले यथार्थता पत्ता लगाउन छानबिन समिति गठन गरेको हो। मन्त्रालयका सचिव कोइरालाले घटनालाई गम्भीर रूपमा लिइएको बताउँदै छानबिनबाट दोषी देखिएकामाथि कानुनअनुसार कारबाही गरिने जानकारी दिए ।