सर्लाहीको ‘कर्णाली’ भनेर चिनिने लालबन्दी नगरपालिका–१४ स्थित नारायण खोलामा मंगलबार बिहानदेखि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सिन्धुलीको मरिण क्षेत्र तथा लखन्देही खोलाको शीर क्षेत्रमा परेको अविरल वर्षापछि आएको बाढीका कारण यातायात ठप्प बनेको हो । चुरे क्षेत्रको दुर्गम बस्तीका रूपमा परिचित नारायण खोला अझैसम्म सडक सञ्जालसँग प्रत्यक्ष रूपमा जोडिन सकेको छैन । वर्षायामबाहेकको समयमा स्थानीयवासीले लखन्देही र डाइनी खोलाको बगर प्रयोग गरी सवारी सञ्चालन गर्दै आएका छन् ।
तर मंगलबार बिहानदेखि खोलामा आएको ठूलो बाढीका कारण मोटरसाइकल, ट्याक्टर, बोलेरो तथा बससहित कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तथा बस व्यवसायी कुमार मोक्तानले जानकारी दिए । उनका अनुसार बाढीले खोलाको बाटो नै बगाएको छ । लालबन्दी नगरपालिका–१४ का वडाध्यक्ष छेनामसिंह घिसिङले बर्खायामभर नियमित बस सञ्चालन हुने सम्भावना न्यून रहेको बताए ।
सोमबार लालबन्दीबाट यात्रु लिएर गएका बसहरू समेत बाढीका कारण सिन्धुलीको मरिण र नारायण खोलामै रोकिएको उनले जानकारी दिए । बाढीका कारण अत्यावश्यक कामले लालबन्दी बजार आउनुपर्ने स्थानीयसमेत गाउँमै रोकिएका छन् । आर्थिक वर्षको अन्त्यतिर सञ्चालन भइरहेका योजनाको अनुगमनका लागि नारायण खोला पुगेका वडाध्यक्ष घिसिङ स्वयं पनि बाढीका कारण नगर कार्यपालिका बैठकमा सहभागी हुन नसकेको बताए ।
हाल महेन्द्र राजमार्गस्थित लालबन्दी बजारदेखि वडा नम्बर १३ को पत्थरकोट छेडा गाउँसम्म पक्की सडक पुगेको भए पनि त्यसभन्दा उत्तर नारायण खोलासम्म पुग्न लखन्देही र डाइनी खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। पत्थरकोटदेखि मटरदोभानसम्म सडक ट्र्याक खोल्ने काम वर्षौंदेखि जारी रहे पनि अझै पूर्णता पाउन सकेको छैन ।
यातायात अवरुद्ध भएसँगै नारायण खोलाका स्थानीयवासीको दैनिक जीवन कष्टकर बनेको छ । लालबन्दी–१४ स्थित आधारभूत विद्यालय सतासका शिक्षक कर्ण घिसिङका अनुसार बर्खायामभर बिरामी परेका स्थानीयलाई अस्पताल पुर्याउन झोलुङ्गोमा बोकेर ल्याउनुपर्ने बाध्यता रहने गरेको छ ।
स्थानीयवासीका अनुसार बाढी आएको समयमा बिरामीलाई अस्पतालसम्म पुर्याउनु अत्यन्त जोखिमपूर्ण हुन्छ । यस्तै, विद्यार्थीहरू पनि नियमित रूपमा विद्यालय जानबाट वञ्चित हुने गरेका छन् । बाढी कम भएका बेला शिक्षकहरूले नै विद्यार्थीलाई खोला तारेर विद्यालय पुर्याउने गरेका छन् ।
भौगोलिक रूपमा सर्लाहीकै दोस्रो ठूलो वडा मानिने लालबन्दी–१४ मा ७४८ घरधुरीको बसोबास रहेको छ । बर्खाका तीनदेखि चार महिना सवारी साधन सञ्चालन नहुने भएकाले स्थानीयले आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री हिउँदमै संकलन गरेर राख्ने गरेका छन् । यसैगरी, सडक सञ्जाल नपुगेका लालबन्दी नगरपालिका–१५ को भित्रीखोला, शीर कालिन्जोर तथा ईश्वरपुर नगरपालिका–१२ को पिपलदमार क्षेत्रमा पनि वर्षायामभर यातायात सेवा प्रभावित हुने गरेको छ ।
स्थानीयवासीले नारायण खोला क्षेत्रमा स्थायी सडक तथा पुल निर्माण गरी वर्षौंदेखिको यातायात समस्याको दीर्घकालीन समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।