सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ सङ्कलन गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार सरकारले चालु आर्थिक वर्षमा विभिन्न राजस्व शीर्षकअन्तर्गत १४ खर्ब ८० अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि ११ महिनाको अवधिमा लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो ।
सरकारले कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । तर, समीक्षा अवधिमा लक्ष्यको ७४ दशमलव ०३ प्रतिशत अर्थात् ९ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ मात्रै सङ्कलन भएको विवरणमा उल्लेख छ ।
यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएकोमा ११ महिनामा लक्ष्यको ६४ दशमलव ७३ प्रतिशत अर्थात् ९९ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ ।
त्यसैगरी, चालु आर्थिक वर्षमा अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको भए पनि ११ महिनामा लक्ष्यको ४२ दशमलव ८२ प्रतिशत अर्थात् २२ अर्ब ८८ करोड ५९ लाख रुपैयाँ मात्रै प्राप्त भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।