चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ । यसअघि रत्ननगर नगरपालिकाको टाँडीस्थित होटल स्टारमा महाधिवेशन आयोजना गर्ने तयारी गरिए पनि अब भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा महाधिवेशन आयोजना हुने भएको छ ।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार महाधिवेशनका लागि उपयुक्त व्यवस्थापन र सहभागीहरूको सहजतालाई ध्यानमा राख्दै स्थल परिवर्तन गरिएको हो ।
स्थल परिवर्तन भएसँगै टाँडीमा करिब ६ हजार जना अट्ने बाँसको पण्डाल निर्माण गर्ने काम स्थगित गरिएको उनले जानकारी दिए ।
आगामी असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा अतिथिका लागि सौराहा, रत्ननगर र भरतपुरका विभिन्न होटलमा आवासको व्यवस्था गरिएको छ ।
महाधिवेशनको तयारीका लागि पार्टीका जिल्ला तथा नगर समिति, जिल्लामा रहेका केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा १८ वटा उपसमिति गठन गरी काम अगाडि बढाइएको केन्द्रीय सदस्य गौतमले बताए ।
रास्वपाले महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन विभिन्न तहमा तयारीलाई तीव्रता दिएको जनाएको छ ।