तराई–मधेसमा अहिले आँप उत्पादनको मध्य मौसम चलिरहेको छ ।
किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन्। यहाँ उत्पादन हुने आँपमध्ये मालदह र दशहरी जातका आँप स्वाद र गुणस्तरका कारण उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् । यही बीच महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान रामभगत महतोको घरआँगनमा रहेको एउटै आँपको बोटमा मालदह र दशहरी दुवै जातका आँप फलेपछि स्थानीयवासी चासोका साथ अवलोकन गर्न पुगेका छन् ।
दुई वर्षअघि मालदह जातको बिरुवा भनेर रोपिएको उक्त बोटमा यस वर्ष पहिलोपटक फल लागेको हो । आश्चर्यजनक रूपमा बोटका दुई मुख्य हाँगामा फरक–फरक जातका आँप फलेका छन् । एकातर्फ मालदह जातका ठूला दाना भएका आँप छन् भने अर्को हाँगामा दशहरी जातका तुलनात्मक रूपमा साना आकारका आँप फलेका छन् ।
किसान रामभगत महतोले एउटै बोटमा दुई लोकप्रिय जातका आँप फल्दा आफू निकै खुसी भएको बताउनुभयो । उहाँका अनुसार मालदह र दशहरी दुवै स्वादिष्ट जातका आँप भएकाले यो दृश्य आफैंमा विशेष बनेको छ ।
बागवानी विज्ञ तथा लामो समय सरकारी सेवामा कार्यरत रही अवकाश प्राप्त स्थानीय ताराबहादुर भुजेलका अनुसार बिरुवामा कलमी गर्ने क्रममा फेदतिर दशहरी र माथिल्लो भागमा मालदह जातको हाँगा जोडिएको हुन सक्ने सम्भावना रहेको छ । यद्यपि, एउटै बोटमा दुई फरक जातका आँप फल्नु निकै दुर्लभ घटना भएको र यस्ता उदाहरण अपवादका रूपमा मात्र भेटिने गरेको उहाँले बताउनुभयो ।
स्थानीयवासीहरूले पनि एउटै बोटमा दुई जातका आँप फलेको दृश्यलाई कौतुहलपूर्ण र अनौठो घटना मानेका छन् ।