मधेस प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या दिनप्रतिदिन जटिल बन्दै गएको तथ्याङ्कले देखाएको छ ।
मानसिक रोग तथा मनोसामाजिक समस्याका कारण पछिल्लो एक वर्षमा मात्रै १ हजार २ सय ९८ जनाले ज्यान गुमाएको तथ्य सार्वजनिक भएपछि प्रदेशको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार मृत्यु हुनेमध्ये १ हजार १ सय ६ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने १ सय ९२ जनाको विष सेवनका कारण मृत्यु भएको छ।
मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) र टिओपी नेपालको सहयोगमा आयोजित कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्कले मानसिक स्वास्थ्य समस्या केवल व्यक्तिगत स्वास्थ्यको विषय नभई सार्वजनिक स्वास्थ्य संकटका रूपमा विकसित भइरहेको संकेत गरेको छ। आर्थिक असुरक्षा, बेरोजगारी, पारिवारिक तनाव, वैदेशिक रोजगारीका चुनौती तथा सामाजिक दबाबजस्ता कारणले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नागेन्द्रप्रसाद शाहले मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै जानु प्रदेशका लागि चिन्ताको विषय भएको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले करिब ६४ लाख जनसङ्ख्या रहेको मधेस प्रदेशमा सरकारी र निजी क्षेत्र गरी जम्मा १० जना मानसिक स्वास्थ्य विशेषज्ञ चिकित्सक मात्र रहेको जानकारी दिनुभयो। विशेषज्ञ जनशक्तिको अभावका कारण सेवामा पहुँच सीमित भएको उहाँको भनाइ थियो । यूएनएफपीएका मधेस प्रदेश प्रमुख डा. नरेन्द्रकुमार मिश्रले प्रत्येक वर्ष करिब १ हजार ३ सय जनाले मानसिक स्वास्थ्यसम्बन्धी कारणले ज्यान गुमाउनु अत्यन्तै गम्भीर अवस्था भएको बताउँदै स्थानीय तहसम्म मनोसामाजिक परामर्श सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
हाल मधेस प्रदेशका १ सय ३६ स्थानीय तहमध्ये ९३ वटामा मनोसामाजिक परामर्शकर्ता परिचालन गरिएको छ भने मानसिक स्वास्थ्यसम्बन्धी आवश्यक औषधिसमेत उपलब्ध गराइँदै आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यद्यपि प्रदेशका एक तिहाइभन्दा बढी स्थानीय तहमा अझै पनि यस्ता सेवा पूर्ण रूपमा विस्तार हुन सकेका छैनन् ।