नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा व्यापक गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १० हजार ५ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेर २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार पनि सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको थियो । यसरी अघिल्ला तीन दिनमा ६ हजार ५ सय रुपैयाँले बढेको सुनको मूल्य पछिल्ला तीन दिन लगातार ओरालो लागेको हो ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो । उक्त दिन सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।