मधेस प्रदेशमा केही दिनयता अत्यधिक गर्मी बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ ।
प्रदेशका अधिकांश जिल्लामा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत कठिन हुन थालेको छ । चर्को घाम र तातो हावाका कारण दैनिक जीवन प्रभावित भएको छ। विशेषगरी दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुर, किसान, सवारी चालक, ठेला व्यवसायी तथा साना व्यापारीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
गर्मी बढेसँगै बजार क्षेत्रमा चहलपहल घटेको छ भने विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयहरूको नियमित गतिविधिमा समेत असर देखिन थालेको छ । दिउँसोका समयमा सडकहरू सुनसान देखिन थालेका छन् ।अत्यधिक गर्मीका कारण लु लाग्ने, टाउको दुख्ने, शरीरमा पानीको कमी हुने, झाडापखाला, ज्वरोलगायतका गर्मीजन्य रोगका बिरामीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गर्मीसँगै सर्पदंशका घटना पनि बढ्न थालेका छन्। प्रादेशिक अस्पताल जनकपुरधाममा दैनिक चारदेखि पाँच जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पताल स्रोतले जनाएको छ । नगराइन नगरपालिका–५ का काली मण्डलका अनुसार गाउँघरमा गर्मी बढेसँगै सर्पको जोखिमसमेत बढेको छ ।
मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जनकपुर, वीरगंज, जलेश्वर, राजविराज र सिराहालगायतका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । विशेषगरी ज्वरो, टाउको दुख्ने, झाडापखाला, रिंगटा लाग्ने तथा सर्पदंशका बिरामीको सङ्ख्या वृद्धि भइरहेको मन्त्रालयले जनाएको छ ।
चर्को गर्मीका कारण दैनिक श्रम गरेर परिवार पाल्ने वर्ग सबैभन्दा बढी समस्यामा परेको छ । तापक्रम उच्च भए पनि जीविकोपार्जनका लागि उनीहरू काम गर्न बाध्य छन् । काम नगरे आम्दानी रोकिने र परिवारको गुजारा चलाउन समस्या हुने भएकाले जोखिम मोलेरै काम गर्नुपरेको उनीहरूको गुनासो छ ।
जनकपुरधाम उपमहानगरपालिका–४ स्थित जिल्ला अदालत अगाडि सानो पसल सञ्चालन गर्दै आएकी ६० वर्षीया गीतादेवीले गर्मीका बाबजुद काम नगरी जीविकोपार्जन सम्भव नभएको बताइन् । उनले नगरपालिकाले पेटी व्यवसाय हटाउन सक्ने चिन्तासँगै दिनभर चर्को घाममा पसिना बगाएर बस्नुपरेको दुःखेसो पोखिन् । त्यस्तै जनकपुरधाम–६ का हरिदेव राउत हार्डवेयर पसलमा सिमेन्टका बोरा बोक्ने काम गर्छन् । उनले परिवारको पालनपोषणका लागि जति गर्मी भए पनि काम गर्नुपर्ने बाध्यता रहेको बताए । ठेला चालक, कुली तथा फुटपाथ व्यवसायीहरूले पनि यस्तै समस्या भोगिरहेका छन् ।
गर्मी बढेसँगै विद्युत् खपतसमेत बढेको छ। स्थानीयवासीका अनुसार कतिपय स्थानमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ भने बारम्बार विद्युत् अवरुद्ध हुँदा सर्वसाधारण थप समस्यामा परेका छन् ।
मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. मुक्तिनारायण साहले गर्मीका कारण रिंगटा लाग्ने, झाडापखाला, शरीरमा पानीको कमी हुने तथा सर्पदंशका बिरामी बढेको भन्दै सचेत रहन आग्रह गरेका छन्। उनले उपचार व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले प्रदेशका सबै अस्पतालसँग समन्वय गरिरहेको जानकारी दिए । मन्त्रालयले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्किन, प्रशस्त पानी पिउन, छाता वा टोपी प्रयोग गर्न तथा बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यता वातावरणविद् अजित श्रीवास्तव ले जलवायु परिवर्तनका कारण मधेसमा गर्मीको प्रभाव बर्सेनि बढ्दै गएको बताए। उनका अनुसार वृक्षारोपणसँगै बिरुवाको संरक्षणमा ध्यान दिन आवश्यक छ ।
साथै, पोखरी तथा जलस्रोतको उचित व्यवस्थापन, चुरे क्षेत्रको संरक्षण, हरियाली विस्तार तथा प्राकृतिक स्रोतहरूको संरक्षणमार्फत तापक्रम सन्तुलनमा सहयोग पुग्न सक्ने उनले बताए ।