बाराको कलैया उपमहानगरपालिका–६ स्थित एक पोखरीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका–६ पर्सा टोल निवासी दिपेन्द्र साहको हाँस पाल्ने पोखरीमा नुहाउने क्रममा दुई बालिका डुबेर गम्भीर घाइते भएका थिए ।
स्थानीयवासी र प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरी तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याइएको थियो। अस्पतालमा चिकित्सकले ईसीजी परीक्षण गर्दा दुवै बालिकाको मृत्यु भइसकेको घोषणा गरेका थिए ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–६ पर्सा टोल निवासी विजय मण्डलकी ६ वर्षीया छोरी सृजना कुमारी मण्डल र सोही स्थानका सञ्जय मण्डलकी ५ वर्षीया छोरी अञ्जली कुमारी मण्डल रहेको प्रहरीले जनाएको छ ।
प्रादेशिक अस्पताल कलैयामा पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि मृतक बालिकाहरूको शव परिवारजनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।