वीरगंजस्थित नारायणी अस्पताल छेउमा रहेको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र (ब्लड बैंक) अब नयाँ स्थानबाट सञ्चालनमा आएको छ ।
मेनरोड विस्तारको क्रममा पुरानो ब्लड बैंक भवन भत्काइने भएपछि आइतबारदेखि सेवा घण्टाघर नजिक रहेको रेडक्रस सोसाइटीको भवनबाट सुरु गरिएको हो । रेडक्रस सोसाइटी पर्सा शाखाका अनुसार अब रक्त सञ्चार केन्द्रको सम्पूर्ण सेवा घण्टाघर नजिकको सोही भवनबाट नियमित रूपमा सञ्चालन हुनेछ ।
शाखाका सभापति बृजकिशोर पटेलले भवन स्थानान्तरणपछि पनि रक्त सेवा निरन्तर, सहज र प्रभावकारी रूपमा उपलब्ध गराइने जानकारी दिएका छन् । नारायणी अस्पताल छेउको पुरानो भवन सडक विस्तार परियोजनाका कारण हटाउनुपर्ने भएपछि सेवा स्थानान्तरण गरिएको हो ।
नयाँ स्थानबाट सञ्चालनमा आएपछि वीरगंज र आसपासका क्षेत्रमा रक्त सेवा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।