काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंह निर्धारित समयसम्म उपस्थित नभएको पाइएको छ ।
स्रोतका अनुसार आइतबार अपराह्न ५ बजेसम्म पनि डा. सिंह भरतपुरस्थित महाधिवेशनस्थलमा पुगेका थिएनन् । पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहप्रति असन्तुष्टि व्यक्त गर्दै आएका सिंह महाधिवेशनमा अनुपस्थित रहनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
यस विषयमा जानकारी लिन खोज्दा डा. सिंहका एक सहयोगीले कार्यव्यस्तताका कारण उनी समयमै महाधिवेशनमा उपस्थित हुन नसकेको बताएका छन् ।
‘उहाँ कार्यव्यस्तताका कारण निर्धारित समयमा पुग्न सक्नुभएन। अहिले उहाँ महाधिवेशनस्थलतर्फ जाँदै हुनुहुन्छ,’ सहयोगीले भने, ‘बेलुकासम्म पुग्ने सम्भावना छ ।’
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार चितवनको भरतपुरस्थित चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सुरु भएको हो । महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेता, सांसद तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ ।