चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको राजनीतिक सहमति अक्षरशः पालना गर्ने बताएका छन् ।
आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार सञ्चालनका लागि रास्वपाले निर्वाचनअघि नै बालेन शाहलाई समर्थन गरिसकेको उल्लेख गर्दै आगामी दिनमा पनि सो सहकार्यलाई निरन्तरता दिने स्पष्ट पारे ।
उनले फुटबल खेलको उदाहरण दिँदै प्रधानमन्त्री शाहप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
“सरकार सञ्चालनका लागि रास्वपाले निर्वाचनअघि नै बालेनजीको खुट्टामा बल पुर्याइसकेको छ। भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो, उहाँले त्यसलाई निरन्तरता पनि दिइरहनुभएको छ,” लामिछानेले भने, “झुक्किएर त्यो बल कहीँ मेरोतिर आएछ भने पनि त्यो बल त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो ।”
लामिछानेको उक्त अभिव्यक्तिलाई रास्वपा र प्रधानमन्त्री शाहबीचको राजनीतिक सहकार्य तथा समर्थनलाई निरन्तरता दिने प्रतिबद्धताका रूपमा हेरिएको छ ।
चितवनमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीका नेता–कार्यकर्तासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको पनि सहभागिता रहेको छ ।