सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित गुप्तवराह मन्दिर क्षेत्रमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा मोनोरेल परियोजनाका लागि बजेट विनियोजन गरेपछि प्रारम्भिक अध्ययन अगाडि बढाइएको हो ।
गुप्तवराह निर्माण समितिका संयोजक रवि श्रेष्ठका अनुसार धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको क्षेत्रमा मोनोरेल निर्माणको सम्भाव्यता अध्ययन सुरु गरिएको छ । अध्ययनका लागि दक्षिण कोरियाबाट आएका मोनोरेल विज्ञहरूको टोलीले स्थलगत अवलोकन तथा प्राविधिक मूल्यांकन गरिरहेको बताइएको छ ।
साबिक वराहक्षेत्र मन्दिर जाने सडकबाट करिब ४ सय मिटर तल अवस्थित गुप्तवराह मन्दिरसम्म पुग्न कठिन भौगोलिक अवस्थालाई ध्यानमा राख्दै मोनोरेल निर्माणको अवधारणा अघि सारिएको हो । प्रारम्भिक अध्ययनमा प्राविधिक पक्ष, आवश्यक पूर्वाधार, लागत अनुमान तथा सञ्चालन मोडेलबारे छलफल भइरहेको संयोजक श्रेष्ठले जानकारी दिए ।
परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउन सम्बन्धित सरोकारवाला निकायसँग थप परामर्श र समन्वय गरिने बताइएको छ । प्राविधिक विज्ञसहितको टोलीले मोनोरेलसँगै स्काइवाक, सिसाको पुल (ग्लास ब्रिज) तथा बञ्जी जम्पजस्ता पर्यटकीय पूर्वाधार निर्माणको सम्भावनासमेत औँल्याएको छ ।
कोशी प्रदेश सरकारले बजेटमा योजना समावेश गरेसँगै वराहक्षेत्र नगरपालिकामा नेपालकै पहिलो मोनोरेल परियोजना निर्माण हुने सम्भावना देखिएको नगर प्रमुख रमेश कार्कीले बताए । उनका अनुसार परियोजना कार्यान्वयन भएमा धार्मिक पर्यटनको विकाससँगै स्थानीय अर्थतन्त्र, व्यापार, रोजगारी तथा पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्नेछ ।
नगर प्रमुख कार्कीले गुप्तवराहधाम धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण तीर्थस्थल भएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रका साथै भारत, भुटानलगायतका देशबाट समेत श्रद्धालु भक्तजन आउने गरेको बताए । मोनोरेल सञ्चालनमा आएपछि तीर्थयात्रा थप सहज हुने र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सम्भाव्यता अध्ययन सुरु भएसँगै गुप्तवराह क्षेत्रलाई धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । परियोजनाले दीर्घकालीन रूपमा स्थानीय विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।