काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक तथा सुरक्षाकर्मीसहितका व्यक्तिहरूलाई तीन दिनसम्म दियालो फुडल्याण्डले खाना तथा खाजाको व्यवस्था गरेको छ ।
दियालो फुडल्याण्डको भरतपुर शाखासँगै काठमाडौँ र बुटवललगायत विभिन्न शाखाका कर्मचारीहरू महाधिवेशनस्थलमा खाद्य व्यवस्थापनमा खटिएका छन् । दियालो फुडल्याण्ड काठमाडौँ शाखाका अपरेसन म्यानेजर प्रेम खत्रीका अनुसार पाँच वटा शाखाबाट जनशक्ति परिचालन गरिएको छ ।
उनका अनुसार असार ७, ८ र ९ गतेसम्म महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई बिहानको खाजा, दिउँसोको खाना, चियाखाजा तथा बेलुकाको भोजन उपलब्ध गराइनेछ ।
.jpg)
“बिहान ७ बजेदेखि ९ बजेसम्म ब्रेकफास्ट, दिउँसो १ बजेदेखि ३ बजेसम्म लन्च, त्यसपछि चिया–कुकीज र बेलुकाको डिनरको व्यवस्था गरिएको छ,” खत्रीले भने, “प्रतिनिधि, पर्यवेक्षक र सुरक्षाकर्मीसहित झन्डै पाँच हजार जनाका लागि खाना तथा खाजाको अर्डर आएको छ ।”
उनका अनुसार बिहानको भोजनमा मटनसमेत समावेश गरिएको छ भने बेलुकाको भोजन शाकाहारी (भेज) राखिएको छ। दैनिक आठदेखि नौ क्विन्टलसम्म मटन खपत हुने अनुमान गरिएको उनले बताए ।
असार ७ गतेदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ९ गते सम्पन्न हुने कार्यतालिका छ । महाधिवेशनमा देशभरका जिल्ला, प्रवास तथा विभिन्न तहका पार्टी कमिटीबाट चार हजारभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् ।
पार्टीले प्रतिनिधिहरूका लागि खाना तथा खाजाको व्यवस्था गरे पनि बसोबासको व्यवस्था भने सहभागीहरूले आफैं मिलाउनुपर्ने भएको जनाएको छ ।
.jpg)
.jpg)
.jpg)