नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा सुन धितो राखेर कर्जा लिएकाहरुले बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका छन् । उनीहरूले सुन चोरीको घटनापछि बैंकले कुनै राहत वा क्षतिपूर्ति नदिएको आरोप लगाएका छन् ।
जेनजी आन्दोलनका क्रममा करिब १८ किलो सुन र सवा ५ करोड रुपैयाँ नगद चोरी भएपछि सुन धितो राखेर कर्जा लिएकाहरु प्रभावित भएको उनीहरूको भनाइ छ । बैंकले अहिलेसम्म समस्या समाधानमा चासो नदेखाएको भन्दै उनीहरूले सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयमा सोमबार प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीमध्ये एक सरस्वती बस्नेतका अनुसार धितो राखिएको सुन हराएपछि बैंक व्यवस्थापनले जिम्मेवारी लिनुको सट्टा पन्छिन खोजेको आरोप लगाइएको छ । उनले बैंकले क्षतिपूर्ति वा वैकल्पिक व्यवस्था नगरेको गुनासो गरिन् ।
प्रदर्शनकारीहरूले धितोमा राखिएको सुन बराबरको क्षतिपूर्ति वा सुन फिर्ता गर्न माग गरेका छन् । बैंकभित्र प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले उनीहरूलाई रोकेको थियो ।
उनीहरूले सरकारी बैंकप्रति विश्वास गरेर कर्जा लिँदा आफूहरू अन्यायमा परेको भन्दै सरकार र बैंक व्यवस्थापनप्रति प्रश्न समेत उठाएका छन् ।