छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले आगामी आर्थिक वर्षका लागि भ्रष्टाचारमुक्त, सुशासनयुक्त तथा नागरिक मैत्री विकासलाई केन्द्रमा राखेर महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गर्न जनताको साथ खाेजेका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष गुप्ताले गाउँपालिकावासीलाई सम्बोधन गर्दै आफ्नो कार्यकालको अन्तिम तथा नयाँ युगको पहिलो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको जानकारी दिएका हुन् । उनले बहुमत नभए पनि सम्पूर्ण निर्वाचित जनप्रतिनिधिको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै प्रस्तावित कार्यक्रमहरू कार्यान्वयनका लागि जनताको साथ आवश्यक रहेको बताएका छन् ।
प्रस्तावित नीति तथा कार्यक्रममा सार्वजनिक खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने योजना समावेश गरेका छन् । ५० हजार रुपैयाँभन्दा माथिका भौतिक पूर्वाधार योजना तथा एक हजार रुपैयाँभन्दा माथिका सामग्री खरिदलाई गाउँपालिकाको वेबसाइट र सामाजिक सञ्जालमार्फत ई–बिडिङ (e-Bidding) प्रक्रियाबाट खुला प्रतिस्पर्धामा लैजाने प्रस्ताव गरेका छन् । यसका साथै तालिम कार्यक्रमको बजेट शून्य गर्ने तथा प्रशासनिक खर्चको सम्पूर्ण विवरण प्रत्येक महिना सार्वजनिक गर्ने योजना पनि अघि सारेका छन् ।
कृषि तथा सामाजिक सुरक्षातर्फ ‘पालिका फ्री सिँचाइ’ कार्यक्रम मार्फत विद्युतीय कृषि सिँचाइका लागि आवश्यक पूर्वाधार विस्तार गरी विद्युत् महसुल निःशुल्क गर्ने प्रस्ताव गरेका छन् । गरिब परिचयपत्र प्राप्त परिवारलाई खाद्यान्न खरिदमा ५० प्रतिशत छुट दिने गरी गाउँपालिका किराना स्टोर स्थापना गर्ने योजना पनि उनले समावेश गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा पूर्वाधार सम्पन्न स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर नियुक्त गरी गाउँपालिकावासीलाई निःशुल्क औषधि उपलब्ध गराउने, अल्ट्रासाउन्ड सेवा निःशुल्क गर्ने, नमुना ‘बेबी बर्थिङ सेन्टर’ निर्माण गरी सुत्केरी महिलालाई पाँच हजार रुपैयाँ भत्ता उपलब्ध गराउने तथा गम्भीर बिरामीले पाउने उपचार सहयोग रकममा थप एक हजार रुपैयाँ वृद्धि गर्ने प्रस्ताव गरिएको छ ।
शिक्षा क्षेत्रमा विद्यालयहरूको दरबन्दी मिलान गरी शिक्षक व्यवस्थापन गर्ने, प्रत्येक विद्यालयमा सीसीटीभी क्यामेरा तथा डिजिटल हाजिरी प्रणाली जडान गर्ने, कक्षा ७, ८ र ९ का छात्रालाई निःशुल्क साइकल वितरण गर्ने, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई उच्च शिक्षाका लागि ५० प्रतिशत छात्रवृत्ति अनुदान उपलब्ध गराउने योजना अघि सारिएको छ ।
यसका साथै जस्तापाताले छाएका विद्यालय भवनमा फल् सिलिङ तथा हाई भोल्युम फ्यान जडान गर्ने कार्यक्रम पनि समावेश छ ।
सूचना तथा प्रविधितर्फ गाउँपालिकाभरिका प्रत्येक टोलका मुख्य चोकमा निःशुल्क वाइफाइ सेवा विस्तार गर्ने तथा स्वास्थ्य प्रवर्द्धनका लागि जिम पार्क र व्यायामस्थल निर्माण गर्ने योजना रहेको छ । नवगावास्थित खेल मैदानका अधुरा पूर्वाधार निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य पनि राखिएको छ ।
अध्यक्ष गुप्ताले यी प्रस्तावहरू आगामी बजेट छलफलमा प्रस्तुत गर्ने जनाउँदै छिपहरमाईको समृद्धि, सुशासन र नागरिकको जीवनस्तर सुधारका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् ।
अध्यक्ष गुप्ता अख्तियारले दायर गरेको मुद्दाबाट क्लिन चिट हुदै केही साता अगाडि पालिका सम्हालेका छन् । बेथिति अन्त्य गर्न उनले कम्मर कसेर पारदर्शिता र जनताको सेवामा उत्रने अठाेट लिएकाे बताएका छन् ।