हिजोदेखि लगातार भइरहेको वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डमा आज रातिको समयमा सवारी साधन चलाउन रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले लगातारको पानीले पहिरोको जोखिम बढेको भन्दै राति सवारी आवागमन रोक्ने निर्णय गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवका अनुसार आज साँझ ७ बजेदेखि भोलि बिहान ५ बजेसम्म नारायणगढ-मुग्लिन सडकमा सवारी साधन चलाउन रोक लगाइनेछ । “राति पहिरोको जोखिम बढी भएकाले गाडी रोक्ने निर्णय गरिएको हो,” प्रजिअ यादवले भने ।
उनका अनुसार, नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा सवारी साधन रोकिनेछ । अहिले सडकमा कुनै ठूलो पहिरो नआए पनि पहिरोको सम्भावना रहेको कारण लामो दूरीका बसहरूलाई राति आवतजावत गर्न नदिने निर्णय गरिएको उनले जानकारी दिए । मौसम पूर्वानुमान महाशाखाले लगातारको झरीका कारण चितवनलाई ‘रेड अलर्ट जोन’ मा राखेको छ ।
यहाँ थप जोखिम हुन सक्ने भएकाले प्रतिकार्यका लागि तयारी अवस्थामा रहन पनि सचेत गराइएको छ ।
लगातारको वर्षाले पहिरोको सम्भावना उच्च रहेको र त्यही कारण सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो । सडकखण्डमा यात्रारत सवारीसाधनलाई वैकल्पिक व्यवस्था गर्न आग्रह गरिएको छ ।